
सूर्यज्योति लाइफको नाफा ११ प्रतिशत बढ्यो, अन्य सूचकको अवस्था कस्तो?



सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नाफामा सुधार देखिएको छ । कम्पनीले सार्वजनिक गरेको चालू आवको तेस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार नाफामा सुधार देखिएको हो ।
गत आवको चैत मसान्तसम्म २९ करोड ५७ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले त्यसको तुलनामा चालू आवको सोही अवधिमा ११.६९ प्रतिशतको वृद्धि सहित ३३ करोड ३ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ । कम्पनीको आम्दानीमा वृद्धि भएको कारण नाफा बढ्न मद्दत पुगेको हो। गत आवको तेस्रो त्रैमाससम्म ७ अर्ब ५१ करोड २२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको कम्पनीले त्यसको तुलनामा चालू आवको सोही अवधिमा १४.६७ प्रतिशतको वृद्धि सहित ८ अर्ब ६१ करोड ४० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ ।
समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी १० अर्ब ४८ करोड १९ लाख रुपैयाँबाट १०.६४ प्रतिशतले बढेर ११ अर्ब ५९ करोड ७० लाख रुपैयाँ नाघेको छ भने कुल खर्च ९ अर्ब ९१ करोड ८८ लाख रुपैयाँबाट ११.१० प्रतिशतले बढेर ११ अर्ब २ करोड २ लाख रुपैयाँ नाघेको छ ।
समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ७.८७ रुपैयाँबाट बढेर ८.७९ रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १२५.४९ रुपैयाँ रहेको छ। चुक्ता पूँजी ५ अर्ब १ करोड रुपैयाँ रहेको कम्पनीको महाविपत्ति कोषमा ४५ करोड ३० लाख रुपैयाँ र जगेडा कोषमा ५३ करोड ४० लाख रुपैयाँ सञ्चिति रहको छ ।


