फस्टाउँदै लघु जीवन बीमा कम्पनी,१ करोडको व्यावसाय बढाएर ४० करोड बनाउँन सफल
काठमाडौं । चालु आर्थिक वर्षको मंसिर महिनासम्मको तथ्यांक हेर्दा लघु जीवन बीमा कम्पनीहरुको व्यावसाय उकालो लागेको अवस्था छ । गत वर्ष जम्मा १ करोड ९ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका तीन लघु जीवन बीमा कम्पनीहरुले यसपालिको मंसिर मसान्तसम्ममा ४० करोड ३४ लाख रुपैयाँ बराबरको व्यावसाय हात पारेका छन् । ठूला बीमा कम्पनीहरुले व्यावसाय गर्न नसकेको ठाउँमा स्थापित लघु बीमा कम्पनीहरुले एक वर्षको अवधिमा गरेको यो प्रगतिलाई उल्लेखनिय मान्नुको विकल्प छैन ।
नेपाल बीमा प्राधिकरणका तथ्यांकशास्त्री बसन्त बोहोराले बीमा दर्पण डटकमसँग भने,‘लघु जीवन बीमा कम्पनीहरुको व्यावसाय बढ्नुको पछाडी लघु बीमाले सुरुवाती चरणमा टर्म पोलिसी मात्रै बेचेको अवस्था थियो । टर्म पोलिसीको बीमाशुल्क न्यून नै हुन्छ । अहिले उहाँहरुले इण्डोमेन्ट बीमा पोलिसी बेच्न सुरु गर्नु भएको छ, नयाँ नयाँ प्रोडक्ट ल्याउँनु भएको छ, स्वीकृत गराउँनु भएको छ । वैदेशिक रोजगारमा पनि उहाँहरुको आवद्धता रहेको छ । यतिमा मात्रै होइन तपाईहरुले हेर्नु भयो भने अहिले सम्पूर्ण लघु जीवन बीमा कम्पनीहरुलाई बैदेशिक रोजगार पुलमा ठूला कम्पनी सरह नै समेटीको अवस्था छ । यी सबै कुराहरुको प्रभाव लघु जीवन बीमाको व्यावसायमा भने सकारात्मक रुपमा परेको देखिन्छ ।’
गार्डीयन माइक्रो लाइफ
संचालनका लागि इजाजत अनुमति पत्र (लाइसेन्स) प्राप्त गरेर न्यून आय भएका नागरिकहरुका लागि स–साना व्यावसाय गरि रहेका तीन लघु जीवन बीमा कम्पनीहरु मध्ये पनि सबैभन्दा धेरै व्यावसाय गार्डीयन माइक्रो लाइफ इन्स्योरेन्सले आर्जन गरेको छ । गत वर्ष मंसिर मसान्तसम्म जम्मा ३५ लाख रुपैयाँ बीमाशुुल्क आर्जन गरेको गार्डीयन लाइफ इन्स्योरेन्सले यसपालि समिक्षा अवधिमा भने १५ करोड ५७ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको हो । उक्त तथ्यांक अन्य लघु जीवन बीमकको तुलनामा निकै बढी पनि रहेको देखिन्छ ।
क्रेष्ट माइक्रो लाइफ
यता क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले १४ करोड ७८ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको अवस्था छ । सोही कम्पनीले समिक्षा अवधि (गत आर्थिक वर्षको मंसिर मसान्तसम्म) ६१ लख रुपैयाँ बीमाशुल्क आर्जन गरेको अवस्था थियो ।
लिवर्टी माइक्रो
लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म ९ करोड ९८ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिमा भने जम्मा ११ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको थियो ।
यस्तो छ लघु जीवन बीमा कम्पनीको मंसिर मसान्तसम्मको तथ्यांक