मंसिर मसान्तसम्ममा जीवन बीमा व्यावसाय ४ अर्बले बढ्यो,सावधिक बीमामा आकर्षण देखियोःप्राधिकरण
काठमाडौं । चालु आर्थिक वर्षको मंसिर महिनासम्ममा हाल संचालनमा रहेको १४ वटा जीवन बीमा कम्पनीहरुले ६५ अर्ब ७४ करोड रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेको तथ्यांक मंगलबार नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा (मंसिर महिनासम्म) जीवन बीमा कम्पनीहरुले जम्मा ६१ अर्ब ७४ करोड रुपैयाँ मात्रै बीमाशुल्क संकलन गरेका थिए । यसरी हेर्दा चालु आर्थिक वर्षको समिक्षा अवधिसम्म आईपुग्दा जीवन बीमा कम्पनीहरुको कुल व्यावसाय ४ अर्ब रुपैयाँले बढेको अवस्था छ ।
सोही विषयमा बीमा दर्पण डटकमसँग आफ्नो धारणा राख्दै नेपाल बीमा प्राधिकरणका तथ्यांकशास्त्री बसन्त बोहोराले भने,‘यसपाली पोहोरको तुलनामा जीवन बीमा कम्पनीमा नयाँ व्यावसाय आएको अवस्था छ । बीमालेख (बीमा पोलिसी) को संख्या हेर्दा कम देखिए पनि कुलबीमाशुल्क भने बढ्न पुगेको छ । यस्तो हुनुको पछाडी पहिले बैंक वित्तीय संस्था, सहकारीबाट टर्म पोलिसी बढी मात्रामा बिक्री हुने गथ्र्यो जसमा अहिले कमी आएको छ । टर्म पोलिसीहरु स–साना प्रिमियमका, सस्ता पनि हुने गर्थे । अहिले नयाँ, (इण्डोमेन्ट) सावधिक प्रकारका बीमाहरु पनि बढी मात्रामा भएको देखिन्छ । यसरी नै बीमालेख संख्या घटेको बेलामा ठूला बीमाहरुमा बीमितहरु आकर्षित हुनु भएको र केही नयाँ व्यावसाय आएका कारण पनि पोहोरको भन्दा यसपालिको कुल बीमाशुल्को तथ्यांक एकाएक बढेको हो ।’
यसपालिको मंसिर मसान्तसम्म आईपुग्दा सबैभन्दा धेरै बीमाशुल्क नेपाल लाइफ इन्स्योरेन्सले आर्जन गरेको छ । नेपाल लाइफले १८ अर्ब ७६ करोड रुपैयाँ आर्जन गरेको छ भने गत वर्ष समिक्षा अवधिमा १६ अर्ब ७६ करोड रुपैयाँमा व्यावसाय सिमित थियो ।
त्यस्तै, नेपाल लाइफपछि सबैभन्दा धेरै व्यावसाय नेशनल लाइफ इन्स्योरेन्सले गरेको छ । नेशनल लाइफले ७ अर्ब ९८ करोड रुपैयाँ बराबराको बीमाशुल्क यसपालिको मंसिर मसान्तसम्म संकलन गरेको छ भने गत वर्ष सोही अवधिमा कम्पनीले ७ अर्ब १६ करोड रुपैयाँ व्यावसाय गरेको देखिन्छ ।
यता, नेपाल लाइफ र नेशनल लाइफ इन्स्योरेन्ससँगसँगै भारत सरकारको समेत लगानी रहेको लाइफ इन्स्योरेन्स कर्पोेरेशन (एलआईसी नेपाल) समेत चर्को प्रतिस्पर्धामा उत्रिएको देखिन्छ । चालु आर्थिक वर्षका मंसिर मसान्तसम्म ७ अर्ब ६६ करोड रुपैयाँ आर्जन गरेको एलआईसी नेपालले गत आर्थिक वर्षको मंसिर मसान्तसम्म भने ६ अर्ब ९२ करोड रुपैयाँ आर्जन गरेको नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख गरिएको छ ।
हेर्नुस् कुन जीवन बीमा कम्पनीको व्यावसाय कस्तो छ ?