पोखरामा अन्तर्राष्ट्रिय बेलुन महोत्सवको तयारी
काठमाडौं । नेपालमा साहसिक पर्यटनलाई नयाँ उचाइमा पुर्याउन, बिवाइडी इन्टरनेशनल हट बेलुन महोत्सव हुने भएको छ । पोखराको पामे क्षेत्रमा पुस ९ गतेदेखि नौ दिने बिवाइडि इन्टरनेशनल बेलुन महोत्सव आयोजना गर्न लागिएको हो ।
आयोजक बेलुन नेपालका प्रबन्ध निर्देशक सविन महर्जनले अन्तर्राष्ट्रिय बेलुन महोत्सवमा अमेरिका, स्पेन, जापान, दक्षिण कोरिया, बेलायत, मलेसिया, लिथुआनिया, थाइल्यान्ड, भियतनामलगायत ३२ देशको सहभागिता रहने बताउनुभयो । बेलुन महोत्वमा हरेक साँझ आतिशबाजी प्रदर्शन, बेलुन दौड र क्याम्पिङका पनि आयोजना हुनेछ ।
क्रिसमस र अङ्ग्रेजी नयाँ वर्षका समयमा हुने यस महोत्सवले आन्तरिक मात्र नभई विदेशी पर्यटकलाई पनि आकर्षित गरी पोखरा र नेपालको पर्यटनलाई अन्तर्राष्ट्रियस्तरमा प्रवर्धन गर्नुका साथै साहसिक खेल पर्यटनलाई पनि अगाडि बढाउने लक्ष्य राखेको छ । नेपालमा पहिलो पटक हुन लागेको बेलन महोत्सव पहिलो पटक सन् १९७२ अमेरिकाबाट सुरु भएको हो । ब्रिस्टल अन्तर्राष्ट्रिय बेलुन फेस्टिबल–इङ्गल्याण्ड, सागा अन्तर्राष्ट्रिय बेलुन फेस्टिबल–जापान, मोन्डियल एयर बेलुन इभेन्ट–फ्रान्स, र टर्कीमा क्यापाडोसिया इन्टरनेशनल बेलुन फेस्टिबल विश्वभर आयोजित विश्व प्रसिद्ध बेलुन महोत्सवहरू हुन् ।
अमेरिकामा सबभन्दा पहिलो भएको अल्बुकर्क इन्टरनेशनल बेलुन फेस्टिबल अहिले पनि विश्वभर विभिन्न देशमा आयोजना हुने गर्दछ । न्यू मेक्सिकोमा वार्षिक रूपमा आयोजना हुने यो बेलुन फेस्टिबलमा ५०० वटा बेलुन उडाउने गरिन्छ । हरेक वर्ष करिब दस लाखभन्दा बढी पर्यटक यो फेस्टिबलमा सहभागि हुने गर्छन् । नेपालमा हुने प्रथम बेलन महोत्सवमा कूल एक लाख ५० हजार जना सहभागी हुने अपेक्षा गरिएको छ ।
सन् २०१५ मा स्थापना भएको बेलुन नेपालले सन् २०१७ देखि पोखरामा व्यावसायिक बेलुन उडान सञ्चालन गर्दै आएको छ। यस वर्षको फेब्रुअरीमा बेलुन नेपाल प्रालिले थाइल्यान्डमा भएको अन्तर्राष्ट्रिय बेलुन पर्वमा पनि सहभागी भएको थियो । ४० मिनेटको उडानमा बेलुनबाट हिउँले ढाकिएका अन्नपूर्ण हिमश्रृङ्खला सहित माछापुच्छ्रे र धौलागिरीका साथै पोखरा उपत्यकाको मनोरम दृश्य देख्न सकिनेछ । यसका साथै सूर्योदय र सूर्यास्तका दृश्य पर्यटकको लागि प्रमुख आकर्षण हुने आयोजकको दाबी छ ।