
विद्यालयमा पाठ्यपुस्तक वितरणबारे अनुगमन सुरु



काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले आगामी शैक्षिक सत्रका लागि विद्यालय तहका पाठ्यपुस्तकको उपलब्धताबारे अनुगमन सुरु गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतको पाठ्यपुस्तक वितरण व्यवस्थापन अनुगमन केन्द्रीय समितिको यही चैत १९ गतेको निर्णय बमोजिम केन्द्रले अनुगमन सुरु गरेको हो । समितिले केन्द्रका पाठ्यक्रम तथा सामग्री शाखाका प्रमुख निमप्रकाश सिंह राठौरलगायत सम्बद्ध निकायका सम्पर्क व्यक्तिलाई आउने गुनासो र सूचना सङ्कलन गरी वितरणलाई प्रभावकारी बनाउन निर्देशन दिएको छ ।
प्रमुख राठौरले पाठ्यपुस्तक अभाव भएमा मानव स्रोत विकास केन्द्रलगायत पाठ्यक्रम विकास केन्द्र, जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका केन्द्रीय कार्यालयलगायत प्रादेशिक कार्यालयका जिम्मेवार व्यक्तिलाई सूचित गर्न आग्रह गरिएको जानकारी दिए । नयाँ शैक्षिक सत्र आगामी वैशाख १५ गतेदेखि सुरु हुँदैछ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले मुद्रण गरिएका पाठ्यपुस्तक यही चैत १६ गतेदेखि बिक्री वितरण सुरु गरेको छ ।


