विद्युत प्राधिकरणको नाफा ९ अर्ब माथि
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले पहिलो तीन महिनामा ९ अर्ब रुपैयाँ भन्दा बढी नाफा आर्जन गरेको छ । प्राधिकरणले सार्वजनिक गरेको वित्तीय सूचक अनुसार समिक्षा अवधिमा ९ अर्ब ११ करोड ३२ लाख रुपैयाँ बराबरको नाफा आर्जन भएको हो । प्राधिकरणले गरेको सो नाफा कर बाहेकको नभई कर सहितको नाफा रहेका जनाइएको छ ।
यता साउनदेखि असोज मसान्तसम्म ब्याज तथा अन्य आम्दानीसमेत कूल आम्दानी ४१ अर्ब ८० करोड ६८ लाख रुपैयाँ रहेको बेलामा ३२ अर्ब ६९ करोड ३६ लाख रुपैयाँ बराबरको खर्च भएको तथ्यांकमा देखिन्छ।
साथै, सोही अवधिमा प्राधिकरणले ३२ अर्ब ६९ करोड ३६ लाख रुपैयाँ बराबरको सञ्चालन सम्भार खर्च गर्दा विभिन्न वितरण केन्द्रको विद्युत् बिक्री रकम २८ अर्ब ९५ करोड आठ लाख ९८ हजार रुपैयाँ रहेकोमा २६ अर्ब ७७ करोड ६६ लाख ५७ हजार रुपैयाँ रहेको देखिन्छ।
प्राधिकरणले आफ्ना र सहायक कम्पनीबाट ८७ करोड ५२ लाख रुपैयाँ र अन्य निजी उत्पादक कम्पनीबाट तीन अर्ब २२ करोड ९५ लाख गरी जम्मा चार अर्ब १० करोड ४७ लाख युनिट खरिद गर्दा सोही प्रयोजनका लागि २१ अर्ब नौ करोड १७ लाख रुपैयाँ बराबरको भुक्तानी गरिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जनाएका छन्।
गत साउनदेखि असोज मसान्तसम्म भारतबाट बिजुली आयात गरिएको छैन भने असोजको दोस्रो साताको बाढीका कारण अपेक्षित निर्यात हुन नसके पनि सो अवधिमा आयात भने गर्नु नपरेको प्राधिकरणले बताउँदै आएको छ। त्यस्तो समयमा प्राधिकरणले भारततर्फ एक अर्ब ४० करोड ६१ लाख युनिट बिजुली निर्यात गरी १० अर्ब ८८ करोड ८७ रुपैयाँ बराबरको आम्दानी गरेको तथ्यांकमा देखिएको हो।
त्यस्तै, नेपाल सरकार र वैदेशिक सहयोग एवम् लगानीमार्फत १६ अर्ब ९३ करोड ९१ लाख २७ हजार रुपैयाँ बराबर खर्च भएको बेलामा विभिन्न आयोजना र विद्युतीकरणका लागि सो रकम खर्च गरिएको जनाइएको छ। प्राधिकरणले १० अर्ब ८८ करोड ३८ लाख १० हजार रुपैयाँ बराबरको रकम स्वयमले खर्च गरेको बेलामा वैदेशिक भुक्तानीतर्फ ६ अर्ब ५ करोड ५३ लाख १७ करोड रुपैयाँ कायम रहेको अवस्था छ ।