
मध्यपूर्वमा तनाव चर्किँदै, समुद्री ढुवानीमा अवरोधको डर



कायरो। यमनका इरान समर्थित हुथी विद्रोहीहरूले इजरायल माथि मिसाइल आक्रमण गरेपछि मध्यपूर्व क्षेत्रमा तनाव थप चर्किएको छ र विश्व व्यापारमा असर पर्ने चिन्ता बढेको छ । हुथी समूहले शनिबार दक्षिणी इजरायलका ‘संवेदनशील सैन्य स्थलहरू’ लक्षित गर्दै मिसाइल प्रहार गरेको दाबी गरेको छ ।
यद्यपि इजरायली सेनाले यमनबाट प्रहार गरिएको एक मिसाइललाई अवरोध गरेको जनाएको छ । इजरायली सैन्य प्रवक्ताले देश बहुपक्षीय युद्धको सम्भावनाका लागि तयारी अवस्थामा रहेको बताएको छ । हुथीहरू इरानको ‘प्रतिरोध अक्ष’ अन्तर्गतका महत्वपूर्ण सहयोगी मानिन्छन् ।
यस समूहले यमनको राजधानी सना र देशको ठूलो उत्तरी क्षेत्र नियन्त्रणमा राखेको छ र सन् २०१४ देखि अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त सरकारविरुद्ध गृहयुद्ध लड्दै आएको छ । हालै संयुक्त राज्य अमेरिका र इजरायलले इरानमाथि आक्रमण सुरु गरेपछि करिब एक महिनासम्म मौन रहेका हुथीहरू अब प्रत्यक्ष रूपमा युद्धमा प्रवेश गरेका हुन् ।
विश्लेषकहरूका अनुसार हुथीहरूको यस सक्रियताले अन्तर्राष्ट्रिय समुद्री ढुवानी र ऊर्जा आपूर्तिमा थप अवरोध ल्याउन सक्छ । यसले विश्व अर्थतन्त्रमा समेत नकारात्मक प्रभाव पार्ने सम्भावना रहेको छ । हुथी पक्षले अमेरिका र इजरायललाई आफ्नो क्षेत्र प्रयोग गरेर इरानमाथि आक्रमण गर्न नदिने चेतावनी दिएको छ ।
उनीहरूले आवश्यक परे थप कडा कदम चाल्ने सङ्केत पनि दिएका छन् । यसअघि पनि हुथीहरूले व्यापारिक जहाजहरू लक्षित गर्दै सयभन्दा बढी आक्रमण गरेका थिए, जसका कारण अन्तर्राष्ट्रिय ढुवानी प्रणालीमा ठूलो अवरोध आएको थियो । विशेषज्ञहरूका अनुसार यदि क्षेत्रीय तनाव अझ बढेमा ऊर्जा बजार, ढुवानी र विश्व व्यापारमा गम्भीर असर पर्न सक्नेछ ।


