
इनिशा विकलाई न्याय माग्दै विद्यार्थीहरू प्रदर्शनमा



काठमाडौं । इनिशा विक हत्या प्रकरणको छानबिन र दोषीलाई कडा कारवाहीको माग गर्दै विद्यार्थीहरूले काठमाडौंमा प्रदर्शन गरेका छन्। पद्मकन्या बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनले बागबजारदेखि माइतिघरसम्म विरोध प्रदर्शन गर्दै न्यायका लागि आवाज उठाएका हुन्।
प्रदर्शनमा विद्यार्थीहरूले ‘इनिशा विकलाई न्याय दे’, ‘बलात्कारीलाई फाँसी दे’, ‘नारीहरूको सुरक्षा गर’ लगायत नारा लगाएका थिए। कालोपट्टी बाँधेर प्रदर्शनमा उत्रिएका उनीहरूले पीडित परिवारले न्याय नपाएसम्म विरोध रोकिने छैन भनी प्रतिबद्धता व्यक्त गरेका थिए।
विक सुर्खेतको वीरेन्द्रनगरस्थित सामुदायिक वनमा मृत अवस्थामा भेटिएकी थिइन्। पोस्टमार्टम रिपोर्टअनुसार बलात्कारपछि अत्यधिक रक्तस्रावका कारण उनको मृत्यु भएको देखिएको छ। प्रहरीले घटनाको निष्पक्ष छानबिन गर्दै अनुसन्धान जारी राखेको छ र दोषीलाई कडाभन्दा कडा कारवाही दिलाउने प्रतिवद्धता व्यक्त गरेको छ।

