
आजदेखि देशभरका म्यानपावर बन्द, विदेश जाने तयारीमा रहेका युवा प्रभावित

काठमाडौं । सरकार र वैदेशिक रोजगार व्यवसायीबीचको विवाद समाधान नभएपछि नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आज (भदौ १ गते) देखि देशभरका सम्पूर्ण म्यानपावर कम्पनीहरूको सेवा पूर्ण रूपमा ठप्प पारेका छन्। सरकारलाई दिएको अल्टिमेटमको समयसीमाभित्र ठोस सहमति हुन नसकेपछि व्यवसायीहरूले शाखा कार्यालयहरूमा तालाबन्दी गर्दै सम्पूर्ण प्रक्रिया रोकेका हुन्।
यसले गर्दा साउन ३१ गते राति १२ बजेसम्म श्रम स्वीकृति र उडान प्रक्रिया पूरा भएका श्रमिकहरूले मात्र प्रस्थान गर्न पाएका छन् भने भदौ १ गतेदेखि तय भएका सबै पूर्व-निर्धारित उडानहरू स्थगित गरिएका छन्। साथै, नयाँ विज्ञापन, श्रमिक अन्तर्वार्ता, पूर्व तथा अन्तिम श्रम स्वीकृति, भिसा स्ट्याम्पिङ र वैदेशिक रोजगार विभागसँग सम्बन्धित सम्पूर्ण प्रशासनिक कामहरू पूर्ण रूपमा ठप्प भएका छन्।
विवादको कारण र व्यवसायीका माग
साउन दोस्रो साता वैदेशिक रोजगार विभागले भारतीय विमानस्थल प्रयोग गरी श्रमिक पठाएको विषयलाई लिएर सयौँ म्यानपावर कम्पनीहरूमाथि कारबाही अघि बढाएपछि व्यवसायीहरू आन्दोलित भएका हुन्।
विशेष परिस्थितिमा सरकारकै मौखिक सहमतिमा वैकल्पिक उडानमार्ग प्रयोग गरिएको दाबी गर्दै व्यवसायीहरूले म्यानपावरमाथिको कारबाही तत्काल फिर्ता हुनुपर्ने, सेवा शुल्क परिमार्जनसम्बन्धी प्रतिवेदन सार्वजनिक गरिनुपर्ने र नीतिगत सुधार हुनुपर्ने माग राखेका छन्। वैदेशिक रोजगार मन्त्रालयसँग भएका प्रारम्भिक चरणका छलफलहरू अनिर्णित बनेको र ठोस मन्त्रीस्तरीय वार्ता नभएको भन्दै संघले माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएको छ। म्यानपावर कम्पनीहरू एकाएक बन्द हुँदा वैदेशिक रोजगारीको पर्खाइमा रहेका हजारौँ नेपाली युवाहरू अन्योलमा परेका छन्।

