कोशीको स्थानीय उत्पादन तथा पर्यटन प्रवर्द्धनमा जोड
धनकुटा । कलकत्तामा केहि वर्ष यतादेखि हिमालय ओरेन्ज फेस्टिभल हुँदै आएको छ । फेस्टिभल पछिल्लो समय कोशी प्रदेशका जिल्लामा उत्पादन हुने कृषि तथा घरेलु र पर्यटकीय क्षेत्रको प्रचारप्रसारको लागि राम्रो माध्यम बनेको छ ।
एसोसिएसन फर कन्जरभेसन एन्ड टुरिजमको आयोजनामा गत मंसिर २१, २२, र २३ गते कलकत्ताको सिटी सेन्टरमा भएको फेस्टिभलमा नेपाल भारत र भुटानको सहभागिता थियो । हिमालय क्षेत्रमा हुने सुन्तलासहित एभोकाडो किवी लगायतको कृषिजन्य उत्पादन तथा घरेलु उत्पादन यहाँ प्रदर्शनीमा तथा बिक्री वितरणमा राखिएको थियो । तर अन्य क्षेत्रको उत्पादन भन्दा नेपाली उत्पादनमा स्थानीयको आकर्षण बढी थियो ।
आफ्नो उत्पादनको प्रचारप्रसार तथा बिक्री वितरण गर्न पाउँदा त्यहाँसम्म पुग्ने उद्यमी निक्कै उत्साहित छन् । धनकुटाका कृषि उद्यमी जितेन्द्रराई भन्छन् ‘हामीलाई राम्रो देशमा आफ्नो उत्पादन बिक्री गर्न निक्कै समस्या हुन्छ तर यहाँ ल्याइनपुर्याउँदै बिक्री हुन्छ, हाम्रो उत्पादनको प्रचारप्रसार हुन्छ यो कार्यक्रम निकै फलदायी छ ।’ कलकत्तामा आयोजना भएको यो छैटौं फेस्टिबल हो । प्रत्येक वर्ष नेपालको कोशी प्रदेशका विभिन्न जिल्लाको सहभागिता रहँदै आएको छ ।
यो फेस्टिबलले कोशी प्रदेशमा उत्पादन भएको कृषिजन्य उत्पादन मात्र नभई घरेलु तथा पर्यटन क्षेत्रलाई समेत राम्रो सहयोग पुग्ने गरेको छ । कलकत्तामा वर्षेनी हुँदै आएको यो फेष्टिवलमा कोशी प्रदेशमा उत्पादन हुने सुन्तला, एभोकाडो, किबी, तथा घरेलु उद्योगमा उत्पादन हुने विभिन्न परिकारका अचार, स्थानीय परीकार, पर्यटकीय स्थलको प्रचारप्रसार, होमस्टे आदिको सहभागिता रहने गरेको छ ।
यी उत्पादन तथा परिकार र पर्यटकिय स्थल देखाएर यहाँका स्थानीयलाई पर्यटकको रुपमा नेपाल भित्राउन सकिने सरोकारवालाको भनाइ छ । पर्यटन अभियान्ता तथा कार्यक्रमका नेपाल प्रतिनिधि अर्जुन कार्की यो कार्यक्रम पश्चिम बंगालमा कोशीमा उत्पादन भएको वस्तु तथा हाम्रा पर्यटन स्थल देखााउने राम्रो स्थान भएको बताउँछन् । ‘यहाँको स्थानीय जो घुम्न चाहन्छन् उनीहरु काठमाडौं पोखरा चितवन घुमिसकेका छन् यिनीहरु नयाँ स्थानको खोजीमा छन् त्यसैले यो हाम्रो लागि राम्रो अवसर हो,’ कार्कीले भने । वर्षेनी हुँदै आएको यो कार्यक्रमका कारण पश्चिम बंगालका स्थानीय पर्यटकका रुपमा कोशी प्रदेश भित्रिने क्रमसमेत बढ्दै गएको मानिन्छ ।
भारतको पश्चिम बंगाल सरकारका पर्यटन दुत तथा ग्रामीण पर्यटन प्रवर्द्धनका अगुवा राज बासुका अनुसार यो महोत्सव तीन देशबीचको आर्थिक तथा सांस्कृतिक सम्बन्ध विकासको महत्तपूर्ण माध्यम बन्न सक्छ । ‘यो कार्यक्रम हुन थालेपछि यहाँका धेरै व्यत्तिले पुर्विनेपाल र त्यहाको जनजीवन, कलासंस्कृती तथा पर्यटन क्षेत्रको बारेमा राख्ने गरेका छन् यसले पक्कै पनि दुबै देशलाई फाइदा पुग्ने छ,’ उनले भने ।