
काठमाडौं ५ मा रास्वपाका टिकट आकांक्षी प्रणय राणा र नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य दीपक केसी कांग्रेस प्रवेश



काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ५ मा रास्वपाका प्रतिनिधि सभा सदस्य टिकट आकांक्षी एवं केन्द्रीय गुनासो विभाग प्रमुख प्रणय समशेर राणा र नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय समिति सदस्य दीपक केसी नेपाली कांग्रेस प्रवेश गरेका छन् । द्वन्द्व व्यवस्थापनमा विद्यावारिधी गरेका राणा यसअघिको प्रतिनिधि सभा निर्वाचनमा सोही क्षेत्रबाट रास्वपाका उम्मेदवार थिए । २०७९ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा राणाले ५ हजार ४ सय ७७ मत प्राप्त गरेका थिए ।
रास्वपामा टिकट वितरणको पद्दतीमा प्रश्न उठाउँदै आएका राणाले केही दिन अघि पार्टीमा विधि र पद्दती मिचिएको भन्दै रास्वपाबाट राजीनामाको घोषणा गरेका थिए । उनले रास्वपाले प्राइमरीका आधारमा उम्मेदवार चयन गर्ने भनेर शुल्क उठाए पनि पछि त्यसको बर्खिलाप गएर टिकट वितरण गरेको भन्दै उनले निरन्तर विरोध जनाउँदै आएका थिए ।
रास्वपाको स्थानीय संगठनमा बलियो पकड बनाएका राणाको रास्वपा परित्याग र कांग्रेस प्रवेशले काठमाडौं ५ को निर्वाचनमा कांग्रेसलाई लाभ हुने विश्वास गरिएको छ । यसैगरी कामनपा ३ मा बलियो प्रभाव रहेका समाजवादी पार्टीका केन्द्रीय सदस्य केसी विगतमा वडाध्यक्ष रहिसकेका छन् । वडामा प्रभावशाली केसीको कांग्रेस प्रवेशले संगठनात्मक रुपमा कांग्रेसलाई लाभ हुने ठानिएको छ । दुवैलाई राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा राणा र केसीलाई सभापति गगनकुमार थापा र महामन्त्री प्रदीप पौडेलले पार्टी प्रवेश गराए ।
काठमाडौं ५ बाट महामन्त्री पौडेल कांग्रेसका तर्फबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार छन् ।

