
उपत्यकाको फोहोर अब सबै पालिकाले मिलेर व्यवस्थापन गर्ने



काठमाडौं । काठमाडौं उपत्यकाको फोहोरको व्यवस्थापन अब सबै पालिकाले मिलेर गर्ने भएका छन्। काठमाडौं महानगरपालिकाले मात्रै फोहोरको व्यवस्थापन गर्दै आएकोमा काठमाडौं उपत्यका मेयर्स फोरमको १३औं बैठकले सबै पालिकाले मिलेर फोहोर व्यवस्थापन गर्ने निर्णय गरेको हो।
यसअघि बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फोहोर व्यवस्थापनको सबै खर्च काठमाडौं महानगरपालिकाले मात्रै बेहोर्दै आएको थियो। अब भने उपत्यकाभित्रका बाँकी १७ वटा नगरपालिकाले पनि आफ्नो क्षेत्रमा उत्पादन हुने फोहोरको मात्राअनुसार खर्च व्यहोर्ने भएका छन्।
बैठकपछि ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले फोहोर व्यवस्थापन एउटा पालिकाको मात्र समस्या नभई सम्पूर्ण उपत्यकाको साझा विषय भएको बताए। काठमाडौं महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले पनि फोहोर सीमा पार असर गर्ने समस्या भएकोले सबैको सहकार्य आवश्यक रहेको उल्लेख गरिन्। बैठकले सङ्घीय सरकारले अघि बढाउने फोहोर व्यवस्थापन सम्बन्धी कुनै पनि अध्ययन वा विकल्पलाई आवश्यक सहयोग गर्ने निर्णय पनि गरेको छ।
त्यसैगरी उपत्यकालाई ‘स्मार्ट सिटी’ बनाउने लक्ष्य सहित अन्तर–पालिका जोड्ने साइकल लेन निर्माण गर्ने योजना बनाइएको छ। प्रस्तावित रुट बुढानीलकण्ठको शिवपुरी क्षेत्रदेखि काठमाडौं र ललितपुर हुँदै गोदावरीस्थित बोटानिकल गार्डेनसम्म रहनेछ। यस परियोजनालाई नमुना परियोजनाका रूपमा अघि बढाउन मास्टर प्लान तयार पारिने जनाइएको छ। आवश्यक कानुन निर्माणका लागि सङ्घीय सरकारसँग आग्रह गर्ने निर्णय पनि भएको छ।
यातायात व्यवस्थापन सुधारका लागि ‘मास ट्रान्सपोर्टेसन’ प्रणाली आवश्यक रहेको निष्कर्ष बैठकले निकालेको छ। मेट्रो रेल निर्माणका विषयमा सङ्घीय सरकारसँग सहकार्य गर्ने र तयार भएका विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) कार्यान्वयनमा सहयोग गर्ने निर्णय गरिएको छ।
मेट्रो निर्माणमा समय लाग्ने भएकाले तत्कालका लागि ट्राफिक जाम र कनेक्टिभिटी समस्या समाधान गर्न वैकल्पिक उपायबारे छुट्टै अध्ययन गरी सरकारलाई सुझाव दिने योजना पनि बनाइएको छ। बैठकमा सहभागी मेयर तथा उपमेयरहरूले फोहोर, खानेपानी, वायु प्रदूषण र जलवायु परिवर्तनजस्ता साझा समस्यामा सङ्घीय सरकारसँग समन्वय बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

