
‘कोडेभर ७.०’ सम्पन्न, एआई र रोबोटिक्समा विद्यार्थीको उत्कृष्ट प्रस्तुति, ३५ परियोजना इन्डोनेसियामा हुने अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि छनोट



काठमाडौं । विद्यार्थीहरूमा कृत्रिम बुद्धिमत्ता (एआई), रोबोटिक्स र कोडिङ क्षमताको प्रवर्द्धन गर्ने उद्देश्यले स्किल्सअपले निमा एजुकेसन फाउन्डेसन र स्टिमपेडियासँगको सहकार्यमा ‘कोडेभर ७.०’ राष्ट्रिय प्रतियोगिता आयोजना गरेको छ। प्रतियोगिता यही माघ २६ गते, सोमबार काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा सम्पन्न भएको हो।
देशभरका ५० भन्दा बढी विद्यालय तथा कलेजबाट ३०० भन्दा बढी विद्यार्थी सहभागी प्रतियोगितामा ७ देखि १८ वर्ष उमेर समूहका विद्यार्थीहरूले प्रविधि–आधारित नवीन समाधानहरू प्रस्तुत गरेका थिए। ‘स्वस्थ भविष्यका लागि प्रविधि’ भन्ने मूल थिममा आयोजित प्रतियोगितामा करिब १०० परियोजनाहरू प्रदर्शनीमा राखिएका थिए। प्रतियोगिता तीन फरक–फरक ट्र्याकमा सञ्चालन गरिएको थियो। पहिलो ट्र्याक ‘इनोभेसन एन्ड आन्टरप्रेनरसीप’ अन्तर्गत विद्यार्थीहरूले संयुक्त राष्ट्रसंघका दिगो विकास लक्ष्य (SDGs) केन्द्रमा राखी एआई र कोडिङमार्फत वास्तविक समस्या समाधान गर्ने परियोजना प्रस्तुत गरेका थिए। दोस्रो ट्र्याक ‘वेलनेस वेभ एआई–रोबो च्यालेन्ज’ मा क्वार्की किट प्रयोग गरी निर्माण गरिएका रोबोटहरूले स्वास्थ्य संकटको परिदृश्यमा खोप वितरण तथा बिरामी उद्धारजस्ता कार्य सम्पन्न गरेका थिए।
तेस्रो ट्र्याक ‘रोबो सकर लिग’ अन्तर्गत विद्यार्थीहरूले आफैं निर्माण गरेका म्यानुअल रोबोटबीच फुटबल प्रतिस्पर्धा गराइएको थियो, जसले मेकानिकल मजबुती र वायरलेस नियन्त्रण क्षमताको परीक्षण गरेको थियो।
स्वास्थ्य, वातावरण र सुरक्षामा केन्द्रित परियोजना
प्रदर्शनीमा स्मार्ट ह्वीलचेयर, एआईमा आधारित शहरी वर्षा पहिचान प्रणाली, आगलागी तथा ग्यास पहिचान र चेतावनी प्रणाली, बाढी पहिचान तथा चेतावनी प्रणाली, भूमिगत पानीको सतह अनुगमन प्रणाली, वायु गुणस्तर अनुगमन तथा फिल्ट्रेसन प्रणाली, LoRa मा आधारित आपतकालीन प्रतिक्रिया प्रणाली, स्मार्ट ग्रीनहाउस, कार्बन ट्र्यापिङ, कार्बन क्यास्केड तथा सेनेटरी प्याड डिस्पेन्सरजस्ता परियोजनाहरू प्रस्तुत गरिएका थिए।
कार्यक्रममा स्किल्सअपका प्रमुख कार्यकारी अधिकृत (सीईओ) निश्चल प्रधानले विद्यालय तहदेखि नै बालबालिकालाई एआई र रोबोटिक्ससँग जोड्नुपर्ने आवश्यकता औंल्याए। उनले भने, ‘अबको युग प्रविधिको युग हो। एआई र रोबोटिक्सको ज्ञान विद्यालय तहदेखि नै आवश्यक भइसकेको छ। त्यसैले कोडेभर बालबालिकालाई प्रारम्भिक चरणदेखि नै प्रविधिसँग जोड्ने हाम्रो एउटा सानो प्रयास हो।’
कार्यक्रमका प्रमुख अतिथिको रूपमा काठमाडौँ विश्वविद्यालयका कम्प्युटर विज्ञान तथा इन्जिनियरिङ विभागका प्राध्यापक डा. सुदन झा थिए, जो सन् २०२५ का लागि स्ट्यानफोर्ड युनिभर्सिटी र एल्सेभियरद्वारा विश्वका शीर्ष २ प्रतिशत वैज्ञानिकको सूचीमा सूचीकृत छन्। विशेष अतिथिका रूपमा डा. समीर खरेल (Human-Centric AI Enthusiast) उपस्थित रहेको थियो। प्रतियोगिताको मूल्यांकन डिजिटल एन्ड बियोन्डका सीईओ सगुन ढुंगाना, WEaRE का कार्यक्रम निर्देशक ग्यारी डे ला पोमेराइ, निर्मल माध्यमिक विद्यालय दमौलीका कम्प्युटर विज्ञान विभाग प्रमुख दीपक पन्थ, नेशनल इनोभेसन सेन्टरका प्रविण बोहरा लगायतको निर्णायक मण्डलले गरेको थियो।
विभिन्न विधामा पुरस्कार
प्रतियोगितामा स्वास्थ्य, वातावरण, कृषि, सुरक्षा र सामाजिक प्रभावका क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई १२ विधामा राष्ट्रिय पुरस्कार प्रदान गरिएको थियो। बालबाटिका स्कुलले इनोभेसन इन हेल्थ अवार्ड, ज्ञानोदय बालबाटिकाले रोबो केयर इनोभेसन अवार्ड, काठमाडौं न्यू क्यासल स्कुलले गर्ल्स इन टेक अवार्ड तथा राजाबास माध्यमिक विद्यालयले ग्रीन टेक अवार्ड प्राप्त गरेका छन्। प्रत्येक विधाका विजेताले ६ हजार रुपैयाँ नगद, मेडल र ट्रफी प्राप्त गरेका थिए।
वेलनेस वेभ एआई–रोबो च्यालेन्जमा पहिलो टीम अक्सिज, दोस्रो नवोदित स्कुल र तेस्रो टिम फ्लोरिन भएका छन्। विजेताहरूलाई क्रमशः २० हजार, १५ हजार र १० हजार रूपैयाँ पुरस्कार प्रदान गरिएको छ। ट्र्याक ३ अन्तर्गत रोबो सकर लिग (सिनियर) मा पहिलो भीएसएन, दोस्रो बज्र स्कुल र तेस्रो एशिया प्याफिक स्कुल भएका छन्। विजेताहरूलाई क्रमशः २० हजार, १५ हजार र १० हजार रूपैयाँ पुरस्कार प्रदान गरिएको छ।
त्यसैगरी ट्र्याक ३ अन्तर्गत रोबो सकर लिग (जुनियर) मा पहिलो लालिगुराँस स्कुल, दोस्रो बालबाटिका स्कुल र तेस्रो रिलायन्स पब्लिक स्कुल रहेका छन्। उनीहरूलाई क्रमशः २० हजार, १५ हजार र १० हजार रूपैयाँ पुरस्कार प्रदान गरिएको छ। विजेता टिमका प्रत्येक विद्यार्थीहरूलाई मेडल र ट्रफी प्रदान गरिएको छ। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने ३५ परियोजना आगामी मे १६–१७, २०२६ मा इन्डोनेसियाको जकार्तामा आयोजना हुने ‘कोडेभर ७.०’ अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि छनोट भएका छन्, जहाँ ५० भन्दा बढी देशका विद्यार्थी सहभागी हुनेछन्।
प्रतियोगितामा एसिया प्यासिफिक स्कुल, रिलायन्स पब्लिक स्कुल, ललिगुराँस नेशनल एकेडेमी, काठमाडौं न्यू क्यासल स्कुल, बालबाटिका स्कुल, बुद्धनीलकण्ठ स्कुल, नवोदित कलेज, सेन्ट जोसेफ्स स्कुल विराटनगर, ज्ञानोदय बालबाटिका, पिक प्वाइन्ट एकेडेमी, काठमाडौं भ्याली स्कुल, पाथिभरा इङ्लिस स्कुल (मोरङ), नवा किरण इङ्लिस स्कुल (सुनसरी), आरम्भ विद्या मन्दिर, राजाबास माध्यमिक विद्यालय, वज्र एकेडेमी तथा भी.एस. निकेतन उच्च माध्यमिक विद्यालयको सहभागिता रहेको थियो।
प्रतियोगिताका प्रायोजकहरूमा नेपाल क्यान मुभ, हिमालयन एभरेष्ट इन्स्योरेन्स, बेन नेभिस, टिप टप, सनवे कलेज, बोन होलिडेज, सनवे कलेज, हिमालयन बैंक र एजुकेसन ट्री ग्लोबल, माइसेल, क्लासिक टेक, बियोन्ड टेक नेपाल रहेका थिए। यस्तै ब्रेनडिजिट, कोड क्लब, कन्टेन्टडर, चाइल्डसेफनेट, डिजिटल एन्ड बियोन्ड, आइसिटी फाउन्डेसन नेपाल, स्क्वाड अफ चेञ्जमेकर्स र ग्लोबल स्पार्कसँग सहकार्य गरिएको थियो।

