
सलिकोले कमायो ६ महीनामा ३ करोड ७३ लाख नाफा



काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) को नाफामा भारी गिरावट आएको छ । कम्पनीले सार्वजनिक गरेको चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार नाफामा गिरावट आएको हो ।
चालु आर्थिक वर्षको पुस मसान्तसम्मको अवधिमा यो कम्पनीले ३ करोड ७३ लाख रुपैयाँ नाफा कमाएको छ । यो गत आर्थिक वर्षको तुलनामा ४३.२९ प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ६ करोड ५८ लाख रुपैयाँ नाफा कमाएको थियो । नाफा घटेपनि कम्पनीको व्यवसायमा भने उल्लेख्य मात्रामा वृद्धि भएको तथ्यांकले देखाएको छ । गत आवको पुस मसान्तसम्म ७१ करोड ९१ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको कम्पनीले त्यसको तुलनामा चालू आवको सोही अवधिमा ६१.९४ प्रतिशतको उत्साहजनक वृद्धि सहित १ अर्ब १६ करोड ४५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ ।
त्यसैगरी समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी २२.१७ प्रतिशतले बढेको छ भने कुल खर्च २७.२२ प्रतिशतले वृद्धि भएको छ । अभिकर्तालाई दिइने कमिशन बापतको रकम ११४.६६ प्रतिशतले बढाएको कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानी भने ३३.८७ प्रतिशतले घट्न पुगेको छ ।
चुक्ता पुँजी २ अर्ब ६२ करोड रुपैयाँ रहेको कम्पनीको स्पेशल रिजर्भमा २ अर्ब ५५ करोड रुपैयाँ, महाविपत्ति कोषमा २१ करोड ७१ लाख रुपैयाँ र जगेडा कोषमा १० करोड २९ लाख रुपैयाँ सञ्चित रहेको छ । ६ अर्ब २७ करोड रुपैयाँ लगानी गरेको कम्पनीको कुल सम्पत्तिको मूल्य १५ अर्ब ५१ करोड रुपैयाँभन्दा माथि रहेको छ।

