
ग्राहकको मोबाइल नम्बर तथा अन्य विवरण उपलब्ध नगराएको टेलिकमको दाबी



काठमाडौं । नेपाल टेलिकमले VAS (Value Added Services) सेवा प्रदायकहरु मार्फत SMS मा आधारित विभिन्न प्रकारका सन्देशहरु सेवाग्राहीहरुलाई पठाउने व्यवस्था रहेको छ । सम्बन्धित VAS सेवा प्रदायकहरुले सेवाग्राहीहरुको आवश्यकता बमोजिमको सन्देश पठाउने र आवश्यक नियन्त्रण कार्य गर्दै आएका छन् । यसका लागि नेपाल टेलिकमले कुनै पनि सेवाग्राहीको व्यक्तिगत मोबाइल नम्बर तथा अन्य विवरण उपलब्ध गराउने गरेको छैन ।
यसै सन्दर्भमा हाल केही सेवा प्रदायकमार्फत VAS को स्वीकृत व्यवसाय भन्दा फरक आपत्तिजनक प्रकृतिको सन्देश नेपाल टेलिकमका विभिन्न मोबाइल नम्बरहरुमा समेत प्रवाह भइरहेको र यस सम्बन्धमा सेवाग्राही तथा राज्यको जिम्मेवार निकायहरुबाट समेत गुनासो प्राप्त भएको छ ।
यस अनुसार सम्बन्धित VAS सेवा प्रदायकलाई विभिन्न प्रकारका जातीय, वर्गिय, धार्मिक, साम्प्रदायिक वा राजनीतिक सद्भावमा खलल पुर्याउने प्रकृतिका सन्देश प्रवाह नगर्न सचेत गराइएको छ । आगामी दिनमा समेत यस प्रकारका सन्देश सर्वसाधारणको नम्बरमा प्रवाह नगर्न तथा नियन्त्रण गर्न सबै VAS सेवा प्रदायकहरुलाई निर्देशन दिइएको छ । यस प्रकारका कार्य पुनः दोहोर्याएमा सम्झौताको प्रावधान बमोजिम दुई पक्ष बिचको सम्झौता नै रद्द गर्न सकिने छ ।
नेपाल टेलिकम सेवाग्राहीको मोबाइल नम्बर तथा अन्य विवरणहरुको गोपनियताप्रति सदैव संवेदनशील रहेको र आगामी दिनमा समेत गोपनियताको सम्मान गर्ने प्रतिबद्धता पुनः व्यक्त गर्दछ ।

