
पाँच महिनामा भित्रियो ८ खर्ब ७० अर्ब रुपैयाँ रेमिट्यान्स



काठमाडौं । चालू आर्थिक वर्ष ०८२/८३ का पहिलो पाँच महिनामा रेमिट्यान्स आप्रवाहमा उल्लेखनीय वृद्धि देखिएको छ। नेपाल राष्ट्र बैंकका अनुसार यस अवधिमा रेमिट्यान्स आप्रवाह ३५.६ प्रतिशतले बढेर ८ खर्ब ७० अर्ब ३१ करोड रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको यही अवधिमा भने रेमिट्यान्स आप्रवाह केवल ४.७ प्रतिशतले मात्र वृद्धि भएको थियो । त्यसैगरी, ०८२ साल मङ्सिर महिनामा मात्र रेमिट्यान्स आप्रवाह एक खर्ब ८३ अर्ब १८ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही महिनामा यो रकम एक खर्ब १८ अर्ब ७९ करोड रुपैयाँ रहेको थियो।
यस अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २९.० प्रतिशतले वृद्धि भई ६ अर्ब १६ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ३.४ प्रतिशतले बढेको थियो । चालू आवको पाँच महिनाको अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) ९ खर्ब ५४ अर्ब ७८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ७०० अर्ब ४३ करोड रुपैयाँ थियो । यस अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या एक लाख ७५ हजार ५९१ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या एक लाख ६३ हजार ९२४ छ ।

