
नेपाल एसबीआई बैंकलाई ‘डबल ए’ रेटिङ: स्थायित्व, विश्वसनीयता र वित्तीय सबलताको उत्कृष्ट मान्यता

काठमाडौं । नेपाल एसबीआई बैंक लिमिटेडको विश्वसनीयता र वित्तीय क्षमतामा निरन्तरता देखाउँदै रेटिङ एजेन्सी इक्रा नेपालले पुनः उच्च श्रेणीको रेटिङ पुष्टि गरेको छ । संस्थाको इश्युअर रेटिङलाई डबल एए स्तरमा कायम राखिएको छ जसले बैंकको वित्तीय दायित्व समयमै चुक्ता गर्ने उच्च क्षमता र न्यून जोखिमलाई प्रकट गर्छ ।
सोहीसँगै बैंकको अधीनस्थ ऋणपत्रको रेटिङ पनि एल डबल एए तहमा पुनः पुष्टि गरिएको छ । इक्रा नेपालका अनुसार बैंकको उच्च रेटिङ कायम रहनुको मुख्य आधार यसको सबल प्रवर्द्धक पृष्ठभूमि हो । भारतको प्रतिष्ठित स्टेट बैंक अफ इन्डियाले बैंकमा ५५ प्रतिशत सेयर स्वामित्व राखेको छ भने कर्मचारी भविष्यकोषले १५ प्रतिशत सेयरमा लगानी गरेको छ । स्टेट बैंक अफ इन्डियासँगको प्राविधिक सहयोग सेवा सम्झौता (टेक्निकल सपोर्ट सर्भिस एग्रिमेन्ट) का कारण व्यवस्थापनदेखि सञ्चालनसम्मको दक्षता बलियो बनेको बताइएको छ । सन् १९९३ देखि सञ्चालनमा आएको नेपाल एसबीआई बैंकले लामो अनुभव र सक्षम व्यवस्थापन टोलीका कारण स्थायित्व कायम राख्न सफल भएको छ ।
आगामी दिनमा बैंकले पूँजी पर्याप्तता कायम राख्दै सम्भावित जोखिमहरू न्यून गर्न सक्ने क्षमता, पुनर्संरचना ऋणहरूमा नियन्त्रण, र न्यून लागतका निक्षेप बढाउँदै नाफा सुधार गर्ने दिशामा केन्द्रित रहने अपेक्षा गरिएको छ । समग्रमा, नेपाल एसबीआई बैंकले स्थायित्व, विश्वसनीयता र व्यवस्थापन क्षमताका दृष्टिले देशको अग्रणी वित्तीय संस्था बन्ने आफ्नो यात्रा निरन्तर अघि बढाइरहेको देखिन्छ ।


