
राष्ट्रिय वाणिज्य बैंकको खुद नाफा २९५%ले बढ्यो

काठमाडौं । सरकारी स्वामित्व राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । वित्तीय विवरण अनुसार यस अवधिमा बैंकले खुद नाफा, सञ्चालन मुनाफा, ब्याज आम्दानी लगायतका प्रमुख सूचकमा उल्लेख्य प्रगती गर्न सफल भएको छ ।
चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा बैंकको मुनाफा गत आर्थिक वर्षको तुलनामा २९५.७२ प्रतिशतले बृद्धि भएको छ । बैंकले यस अवधिमा कुल ५९ करोड ८७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिमा १५ करोड १३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
बैंकको खुद ब्याज आम्दानी पनि ३४.३१ प्रतिशतले बृद्धि भएको छ । असोज मसान्तसम्ममा बैंकले दुई अर्ब ९२ करोड पाँच लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले दुई अर्ब १७ करोड रुपैयाँको ब्याज आम्दानी गरेको थियो ।
राष्ट्रिय वाणिज्य बैंकको सञ्चालन मुनाफा पनि उच्च अंकले बृद्धि भएको छ । समीक्षा अवधिमा बैंकको सो मुनाफा २९८.८४ प्रतिशतले बृद्धि भएर ८५ करोड २४ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले २१ करोड ३७ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको थियो ।
१५ अर्ब ६३ करोड रुपैयाँ चुक्ता पुँजी रहेको राष्ट्रिय वाणिज्य बैंकको प्रतिशेयर आम्दानी १५ रुपैयाँ ३२ पैसा रहेको छ । समग्र रुपमा बैंकको वित्तीय सूचांकहरुमा सुधार हुदै गएको छ ।


