बीमामा सरेण्डर भनेको के हो र किन हुन्छ ?
काठमाडौं । बीमा क्षेत्रमा सरेण्डर शब्दको प्रयोग निकै भएको पाइन्छ । तर, वास्तवमा यो सही हो वा गलत हो भन्ने विषयमा निकै कम मात्रामा चर्चा हुने गरेको छ । आज हामीले जीवन बीमामा सरेण्डर भनेको के हो र यो किन गर्ने ? भन्ने विषयमा केही चर्चा गर्दैछौं ।
सरेण्डर (समर्पण) भनेको के हो ?
सरेण्डर अंग्रेजी शब्द हो यसको नेपाली नाम समर्पण हुन्छ । तपाई हामीले कुनै पनि युद्ध वा कुनै कठिन अवस्थामा आत्म समर्पण गर्दा वा भनौ गिभ अफ दिँदा समर्पण शब्द सुन्ने गरेका छौं । त्यसरी नै कतिपय श्रद्धालु भक्तजनहरुले समेत ईश्वरको चरण कमलमा आफूलाई समर्पण गर्ने गरेकोे हामीले पाउँछौं । अब हामी लागौं बीमामा सरेण्डर भनेको के हो भन्ने वास्तविकता तर्फ ।
मानौ तपाईले कुनै पनि जीवन बीमा कम्पनीमा बीमालेख किन्नु भयो या बीमा गराउँनु भयो भने त्यसलाई त्याग्ने काम नै सरेण्डर हो । हामीले आफूसँग पैसा भएको बेलामा बीमा पोलिसी जसरी किन्छौं त्यसरी नै आफूलाई खर्च अभाव भएको बेलामा बीमालाई निरन्तरता नदिई बरु उल्टै आफूले जम्मा गरेको रकम र बीमा बापत प्राप्त हुने बाँकी सबै रकम लिएर कुनै पनि बीमाबाट बाहिरीन्छौ भन्ने त्यही नै हो सरेण्डर । अब एक हिसाबले हेर्दा सरेण्डर एउटा प्रक्रिया पनि हो । जहाँ तपाईले अहिले तपाईसँग पैसा भएको बेलामा बीमामा आवद्ध हुनु भयो फेरी तपाईलाई बीमाशुल्क तिर्न पैसा भएन वा कुनै ठूलो गर्जो टार्नु पर्ने अवस्था आयो भने तपाईले सरेण्डर गर्ने सम्भावना धेरै हुन्छ ।
ऋण लिन छाडेर किन हुन्छ त सरेण्डर ?
मानौ हामीले जीवन बीमा गरेका छौं भने निश्चित अवधि पुगेपछि बीमा कम्पनीहरुले हामीलाई ऋण पनि दिन्छन् । अर्को कुरा भनेको बीमाले आगो लाग्दा पनि पैसा दिन्छ, घरखेतमा बाढी पस्दा पनि पैसा दिन्छ, दुर्घटना,मृत्युदेखि रोग लागेको बेलासम्म रहेक बेलामा पैसा दिन्छ तर पनि बीमा गरेको व्यक्तीले आफ्नो पैसा नै फिर्ता किन लिन्छन् भन्ने सवाल पनि निकै महत्वपूर्ण हुने गरेको छ ।
मानौ तपाईले अग्नी बीमा गर्नु भएको छ भने मात्र आगालागीको पैसा पाउँनु हुन्छ, जीवन बीमा गर्नु भएको छ भने आगोले घर खत्तम पार्दा बीमाले पैसा दिँदैन । तपाई हामीले दुर्घटना बीमा गरेका छौं भने त्यो पनि कुन कुन शर्तलाई आधार बनाएर बीमा गरेका छौं त्यही शर्त नै मुख्य हुन जान्छ । त्यो सम्झौता नै बीमा जगतमा अन्तिम सत्य हो ।
बीमा क्षेत्रको नियमनकारी निकाय नेपाल बीमा प्राधिकरण स्वयमले केही महिना अघि तराईका केही जिल्लामा बीमा सम्बन्धि सचेतना कार्यक्रम गर्दा कतिपय ठाउँमा जीवन बीमा र घर आगलागि हुँदा बीमाले दिने रकमको भिन्नताका बारेमा समेत नागरिक स्तरबाट जिज्ञासा राखिएको थियो । यसबाट एक त बीमा जान्ने उत्सुकता नागरिकहरुमा छ भन्ने देखिन्छ भने अर्को कुरा हामीले बीमाका निकै साधारण कुराहरु नबुझि बीमा गर्दा त्यसले भविष्यमा ठूला ठूला (मिस अण्डरस्टयाडीङ) बुझाईमा भिन्नता एवम् समस्या सिर्जना गरेको पाउँछौं ।
पुराना तथा ठूला बीमा कम्पनीहरुमा स्वभाविक रुपमा बढी सरेण्डर
पुराना तथा ठूला बीमा कम्पनीहरुले धेरैजनाको बीमा गराएको भएर बीमा कम्पनीबाट बाहिरीनेको संख्या पनि धेरै हुने गर्छ । त्यसैले नयाँ कम्पनीको तुलनामा पुराना जीवन बीमा कम्पनीहरुको सरेण्डर संख्यात्मक रुपमा बढी देखिन्छ । उनीहरुले बोकेको दायित्व भार र बजार हिस्सा पनि ठूलो हुने भएको धेरै वर्षदेखि धेरै जनाको जोखिम बोकेकाले बीमालेखबाट बाहिरीने पनि स्वभाविक रुपमा नै साना कम्पनीको तुलनामा धेरै देखिन्छ । तर, यसको मतलब शंकास्पद रुपमा बीमा पोलिसी छाड्नु पनि सामान्य हो भन्न खोजेको होइन । अत्यन्तै अस्वभाविक भएमा त्यसको पनि मापन गर्न जरुरी छ । त्यस्तो मापन नियामक निकाय र कम्पनी स्वयमले गर्ने गर्छन् । किनकी उनीहरुले यसरी हाम्रो दायित्व बोकेका छन् कि भवितव्यमा उनीहरुले सकेसम्म चाँडै भुक्तानी गर्नु पर्ने बाध्यकारी अवस्था छँदै छ । किनकी उनीहरुले हाम्रो बीमाशुल्क लिइसकेका छन् त्यो पनि बीमांक रकम समयमा नै दिन्छु भनेर ।
सरेण्डर कहिले गर्ने ?
यदी तपाईलाई आफ्नो बीमालेखलाई निरन्तरता दिनका लागि अब कुनै पनि सामाथ्य बाँकी छैन भने त्यस्तो बेलामा निर्धक्क रुपमा सरेण्डर गर्नु होस्, चाहे तपाईले जुनसुकै बीमा कम्पनीमा बीमा गरेको भए पनि त्यसले फरक पार्दैैन । किनभने तपाईले बीमा आफ्नो सुरक्षाको लागि गरेको हो कम्पनीलाई धनी बनाउँन मात्र त होइन । तर यसमा एउटा तथ्य फेरी के पनि हो भने तपाईले अकारण सरेण्डर गर्नु भएको छ भने तपाई घाटामा जाने सम्भावना धेरै छ । तपाईको एक त जोखिम बहन कम भयो, दोस्रो पाउँने बोनस काटीने भयो तेस्रो सुरुमा बीमाको जुन उदेश्इ बुझेर तपाईले बीमा गर्नु भएको थियो सरेण्डर गर्दा तपाई आफ्नो गन्तव्यमा पुग्नु भएन् ।
प्लान (योजनावद्ध) सरेण्डर मुख्य समस्या
अब जो कोहीलाई बीमा प्राधिकरण नै सरेण्डरको अवधि तीन वर्ष बनाएको छ । बीमा गरेपछि तीन वर्ष अनिवार्य किस्ता बुझाउँनु पर्छ । यस्तो बाध्यकारी किन गरेको होला भन्ने पनि खट्कीन सक्छ । यसको पनि कारण छ, निकै गतिलो कारण ।
नेपाल बीमा प्राधिकरण एकै पटक सरेण्डर अवधिलाई तीन वर्ष बनाएको होइन । पहिला एक आर्थिक वर्ष पूरा भएपछि सरेण्डर गर्न मिल्ने व्यवस्था थियो । त्यस्तो व्यवस्थाको केही व्यक्तीहरुले नियोजित रुपमा नै दुरुपयोग गरेको र केही सिमित व्यक्तीले असार मसान्तमा बीमा गराउँने पनि आगाउँने आर्थिक वर्षको साउन महिनामा नै बीमापोलिसी त्याग्ने, बीमाबाट विश्राम लिने परिपाटी मौलायो । त्यसरी अकारण हुने योजनावद्ध सरेण्डर या भनौ प्लान सरेण्डर बीमा क्षेत्रको ठूलो रोगको रुपमा विकास हुँदै गयो । यसले गर्दा ठूला र पुराना बीमा कम्पनीहरु दैनिक मारमा पर्दै गए ।
एक त उनीहरुको एक महिनामा स्वस्थ फिगर देखिने अर्कोपालि स्वाटसुट्टै बीमा गर्नेको संख्या र बीमाशुल्क घट्दा बीमा कम्पनीहरुको व्यावसायमा मात्रै प्रभाव परेन त्यसले त करोडौं बीमितहरुले बीमा कम्पनीहरु माथि गरेको भरोसामा आँच आउँने किसीमले बीमा व्यावसायमा नै धक्का लाग्ने स्थिती सिर्जना भयो । सोही भयावह अवस्था रोक्न नेपाल बीमा प्राधिकरणले सरेण्डरको अवधिलाई लम्ब्याएको हो । त्यसरी सरेण्डरको अवधि लम्बिदा एक त बीमितले बीमा गर्दा पाउँने बोनस र रकम हात पार्न सहज हुन्छ भने अर्को भनेको आगामी दिनमा बीमितहरुले पाउँने बोनस दरमा एकरुपता आउँने, बीमा कम्पनीको रिर्जभ कोष बलियो हुने र स्वस्थ व्यावसयीक बातावरणको सिर्जना हुने बीमा प्राधिकरणको बुझाई रहेको देखिन्छ ।
बीमितले बीमा कम्पनीमा २० औं वर्षको करार एकै पटक गर्ने भएकाले र एउटा कागजको भरमा बीमा कम्पनीलाई करोडौं बुझाउँन तयार हुने भएकाले पनि बीमाका यस्ता (जार्गन) कुनै पनि क्षेत्रमा जोडिएका ठेट शब्दलाई ठूलो हाउगुजीको रुपमा बुझ्नु भन्दा पनि सरल रुपमा त्यसको महत्व बुझ्न बुझाउँन र सहि तरिकाको व्याख्या विश्लेषण गर्न जरुरी रहेको देखिन्छ ।
अब तपाईसँग पैसा छ ढुक्कले बीमा गर्नु होस्, बीमा गर्ने रकम सक्कियो सरेण्डर गर्नु होस् । किनकी बीमा तपाईको अधिकार हो सरेण्डर पनि एक वित्तीय प्रकिया हो अपराध होइन ।