


मुस्ताङबाट निकासी भयो ३५ करोडभन्दा माथिका भेडाच्याङ्ग्रा




मुस्ताङ । यसवर्ष मुस्ताङबाट करिब ३५ करोड रुपैयाँभन्दा बढी मूल्यका भेडाच्याङ्ग्रा निकासी गरिएको छ । यहाँको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका अनुसार दसैंका लागि मुस्ताङसहित कर्णाली प्रदेशको डोल्पा, मुगु र जुम्लाबाट मुस्ताङको घाँसा हुँदै बेनी—जोमसोम कोरला सडकमार्गबाट १४ हजार ६६८ भेडाच्याङ्ग्रा निकासी गरिएको हो ।
केन्द्रका पशु चिकित्सक डा लालमणि अर्यालका अनुसार यहाँबाट निकासी भएका भेडाच्याङ्ग्रा र रमा (च्यालु)को औसत अनुमान गर्दा ३५ करोड रुपैयाँ बढीको च्याङ्ग्रा निकासी भएको हो । यसवर्ष निकासी भएका भेडाच्याङ्ग्रामध्ये ७ हजार ६६८ वटा स्थानीय र छ हजार ८६८ वटा भेडाच्याङ्ग्रा डोल्पा, मुगु र जुम्लाका रहेका उहाँले बताउनुभयो । यसमा मुस्ताङको हिस्सा अनुमानित २० करोड रहेको छ ।
जिल्ला बाहिरका व्यापारीले किसानको खोरमै रोजेर लिने च्याङ्ग्राको मूल्य रु ३५ हजार, भेडाको २८ हजार रूपैयाँ र रमा (च्लालु) च्याङ्ग्राको मूल्य १२ हजार रुपैयाँ रहेको जनाइएको छ ।