
मंगला गाउँपालिकामा ४ सय घरमा खानेपानी सुविधा



म्याग्दी । जिल्लाको मङ्गला गाउँपालिका–५ का करिब चार सय परिवारमा ‘एक घर, एक धारा’ सहितको खानेपानी सुविधा विस्तार भएको छ ।
नेपाल स्वास्थ्यका लागि पानी ‘नेवा’, कादुरी संस्था, मङ्गला गाउँपालिकाको अनुदान र उपभोक्ताको श्रमदानसहित कुल दुई करोड ८४ लाख ६४ हजार १२२ को लागतमा निर्माण भएका पाँच वटा आयोजनाबाट तीन सय ६५ परिवार लाभान्वित भएका हुन् ।
मङ्गला–५ का वडाध्यक्ष भुपेन्द्र खत्रीले नेवा, गाउँपालिका र उपभोक्ताको रु एक करोड ७९ लाख ६४ हजार १२२ को लागतमा निर्माण भएका चारवटा आयोजनाबाट दुई सय ७१ धारा र कादुरी संस्थाको रु एक करोड पाँच लाखको लागतमा निर्माण भएको एउटा आयोजनाबाट ९० धारामार्फत खानेपानी वितरण गरिएको जानकारी दिए ।
‘पाँचवटै आयोजना आर्थिक वर्ष २०८१र८२ मा सुरु भएर सम्पन्न गरिएको हो’, उनले भने, ‘प्रभावित क्षेत्रका सबै घरका साथै विद्यालय, स्वास्थ्य संस्था र मन्दिरमा पनि निजी धारा जडान गरेर खानेपानी वितरण भएको छ ।’
वडाध्यक्ष खत्रीका अनुसार नेवामार्फत ४८ लाख २२ हजार ४७ को लागतमा निर्माण भएको पाखु–कुरसिम्ला खानेपानी आयोजनाबाट ८४ धारा, २९ लाख ९२ हजार ७३९ लागत रहेको दिही–कुमलेरा खानेपानी आयोजनाबाट ३५ धारा, ६४ लाख ६२ हजार ९१२ लागत रहेको सिरकुम खानेपानी योजनाबाट ९० धारा र ३६ लाख ८६ हजार ८७० रुपैयाँ लागत रहेको अर्मन खानेपानी आयोजनाबाट ६३ धारा निर्माण भएका छन् ।
कादुरी संस्था मार्फत १ करोड पाँच लाख रुपैयाँको लागतमा निर्माण भएको टिकावाङ खानेपानी आयोजनाबाट ९० धारा निर्माण भएका छन् । नेवामार्फत कार्यान्वयन भएको आयोजनाहरूमा कूल लागतको ४९ प्रतिशत नेवा, २५ प्रतिशत गाउँपालिकाको अनुदान र २६ प्रतिशत उपभोक्ताको श्रमदान रहेको छ ।
करिब एक हजार घरपरिवारको बसोबास रहेको साविक अर्मन गाविसको किमचौर र नेटामा गत वर्ष कादुरीमार्फत ‘एक घर, एक धारा’ सहितको खानेपानी आयोजना निर्माण भएको थियो । पोक, छिसवाङ, सेरा, पीपलबोट, हाडेभिर क्षेत्रमा यसअघि पश्चिम नेपाल खानेपानी तथा सरसफाइ परियोजनामार्फत खानेपानी आयोजना निर्माण भएको थियो ।
मङ्गला–५ पाखुका स्थानीय भरत सापकोटाले हाल सार्वजनिक धाराबाट खानेपानी उपभोग गर्दै आएकामा घरमा निजी धारा भएपछि समयको बचत, सहज र सुविधा भएको बताए ।

