

श्री एयरलाइन्सको आइपीओ आउँदै




काठमाडौं । नेपाली आकाशमा लामो समयदेखि सेवा दिँदै आएको श्री एयरलाइन्सले आमजनताबाट पूँजी संकलन गर्ने तयारी गरेको छ । कम्पनीको सञ्चालक समिति बैठकले शेयर निष्कासनमार्फत सर्वसाधारणलाई सहभागी गराउने निर्णय गरेको हो ।
सन् १९९९ बाट व्यवसायिक उडान सुरु गरेको यस कम्पनीले हाल आन्तरिक हवाइ बजारमा करिब १६ प्रतिशत हिस्सा ओगटेर तेस्रो ठूला सेवा प्रदायकको हैसियत कायम गरेको छ । कम्पनीका प्रमुख लगानीकर्ता सुधीर मित्तल हुन् भने संस्थापक अध्यक्ष दिवंगत बनवारीलाल मित्तल रहेका थिए । हाल मित्तल परिवारकै ९९ प्रतिशतभन्दा बढी स्वामित्व रहेको कम्पनीमा कार्यकारी अध्यक्षका रुपमा सुधीर मित्तलको नेतृत्व छ, जसले डेढ दशकभन्दा लामो अनुभवसँगै उड्डयन क्षेत्रमा निरन्तरता दिइरहेका छन् ।
आगामी असोज २ गते बिहान ११ बजे कम्पनीको वार्षिक साधारण सभा बस्ने कार्यक्रम तय गरिएको छ । सभामा आईपीओ जारी गर्नेसम्बन्धी सम्पूर्ण तयारी, हालसम्मको प्रगति प्रतिवेदन, भावी योजनाबारे छलफल हुनुका साथै कम्पनीको नियमावली संशोधन गर्ने प्रस्ताव पनि पेश गरिनेछ । साथै अघिल्लो आर्थिक वर्षको प्रतिवेदन, लेखापरीक्षण नतिजा र आगामी वर्षका लागि लेखापरीक्षकको नियुक्तिसमेत अनुमोदन गरिने एजेन्डा छ ।
श्री एयरलाइन्सले अहिले १० वटा बम्बार्डियर विमान सञ्चालनमा ल्याएको छ, जसमा ३ जेट र ७ टर्बो प्रोप्स (जसमध्ये २ भाडामा लिइएका) छन् । यस्तै, हेलिकप्टर सेवामा ६ एमआई–८ र दुई एयरबस हेलिकप्टर समेत सञ्चालनमा छन् । नेपालगञ्ज र धनगढीलाई बलियो केन्द्र बनाएको कम्पनीले पछिल्लो समय पोखरा, सुर्खेत लगायत क्षेत्रमा नयाँ टर्बो प्रोप्स थप्दै उडान विस्तार गरिरहेको छ ।