

शुक्रबारदेखी भृकुटीमण्डपमा १०० भन्दा बढी कम्पनीको सहभागितासहित नेपाल इलेक्ट्रिक र इलेक्ट्रोनिक्स प्रदर्शनी




काठमाडौं । नेपाल इलेक्ट्रिक, पावर एण्ड लाइटस् तथा नेपाल कन्जुमर इलेक्ट्रोनिक्स एंड होम अप्लायन्सेस अन्तर्राष्ट्रिय प्रदर्शनीको चौथो संस्करण यही भदौ १३, १४ र १५ गते राजधानीको भृकुटीमण्डपमा आयोजना हुने भएको छ । मिडिया स्पेस सोल्युसनस्, फ्युचरेक्स ट्रेड फेर एण्ड इभेन्ट्स तथा एक्जीबिसन एण्ड ट्रेड सर्विसेस इन्डिया प्रालिको संयुक्त आयोजनामा हुने यस प्रदर्शनीमा देशी–विदेशी कम्पनीका १०० भन्दा बढी स्टल रहने आयोजकले जनाएका छन् ।
यस प्रदर्शनीमा नेपाल विद्युत प्राधिकरण र नेपाल शौर्य विद्युत उत्पादक संघ सहयोगी संस्थाका रूपमा रहनेछन् । प्रदर्शनीमा उच्च गुणस्तरका अत्याधुनिक ट्रान्समिसन तथा डिष्ट्रिब्युसन सामग्री, ऊर्जा आपूर्ति तथा कन्ट्रोल डिभाइस, हाउस वायरिङ्गका सामग्री, तार, केबुल, कन्डक्टर, अत्याधुनिक स्विच, एलइडी लाइटिङ्ग, इलेक्ट्रोनिक्स उपकरण, घरायसी विद्युतीय उपकरण, चार्जिङ्ग स्टेशन, ब्याट्री, कार्यालय प्रयोजनका प्रविधि लगायतका उत्पादन प्रदर्शित गरिनेछ ।
आयोजकका अनुसार, मुलुकमा बढ्दो जलविद्युत उत्पादनको खपत बढाउँदै आर्थिक सबलीकरणमा योगदान पुर्याउने र ऊर्जा तथा विद्युतीय व्यवसायीहरूको व्यापार प्रवर्द्धन गर्ने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको हो । यसले विद्युत तथा गुणस्तरीय विद्युतीय सामग्रीको व्यवसाय विकास, आन्तरिक र अन्तर्राष्ट्रिय व्यापार सहजीकरण तथा प्रवर्द्धनमा टेवा पुर्अयाउने अपेक्षा गरिएको छ ।
नेपाल कन्जुमर इलेक्ट्रोनिक्स एंड होम अप्लायन्सेस प्रदर्शनी अन्तर्गत दशैंको अवसरलाई लक्षित गरी ग्राहकले एकै ठाउँमा विभिन्न कम्पनीका उत्पादन अवलोकन तथा खरिद गर्न सक्नेछन् । यसले सर्वसाधारणलाई सहज, सुलभ तथा नयाँ प्रविधियुक्त विद्युतीय उपकरण छनोट गर्ने अवसर प्रदान गर्नेछ ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका विद्युत, इलेक्ट्रोनिक्स, सञ्चार, सूचना प्रविधि, विद्युतीय एवं वैकल्पिक ऊर्जा उद्यमीलाई एउटै स्थानमा जमघट गराई व्यवसायिक अवसर सृजना गर्नु, नविनतम उपलब्धि आदानप्रदान गर्नु तथा उपभोक्तामा ऊर्जा खपतको व्यवस्थापनबारे सचेतना फैलाउनु यस प्रदर्शनीको लक्ष्य रहेको आयोजकले बताएका छन् ।