

आइतबार सार्वजनिक बिदा दिने लुम्बिनी प्रदेश सरकारको घोषणा




काठमाडौं । लुम्बिनी प्रदेश सरकारले बर्का अट्वारी पर्वको अवसरमा भदौ ८ गते आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोही लुम्बिनी प्रदेशका थारू समुदायको बसोवास धेरै रहेका ६ जिल्लामा सार्वजनिक बिदा दिने भएको जनाइएको हो।
यता, थारु समुदायको बसोवास बढी रहेको दाङ, बाँके, बर्दिया, कपिलवस्तु, रूपन्देही र पश्चिम नवलपरासीमा सार्वजनिक बिदा दिने सूचना आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सार्वजनिक गरेको छ ।त्यस्तै, थारू समुदायमा महत्वका साथ मनाइने बर्का अट्वारी पर्व यस वर्ष भदौ ८ गते आइतबार परेको छ।
सोही पर्वमा थारू समुदायका पुरुषहरू उपवास ‘ब्रत’ बस्ने चलन छ । यो पर्वमा निराहार व्रत बसी सूर्यको पूजा गरी मनाइने सांस्कृतिक मान्यता छ । थारू समुदायले सूर्यलाई उज्यालोको प्रतीकको रूपमा मान्दै आएका छन् । पौराणिक कथाअनुसार भीमको पूजा गरेर पनि अट्वारी पर्व मनाउने प्रचलन छ । कुशे औंसीपछिको पहिलो आइतबार यो पर्व मनाइने जनाइएको हो ।