

नेप्सेले गर्यो ‘अड लट’ कारोबार सुरु, लगानीकर्तालाई राहत




काठमाडौं । नेपाल स्टक एक्सचेन्जले ‘अड लट’ कारोबार सुरु गरेको छ । आम लगानीकर्ताको माग बमोजिम नेप्सेले मिति साउन १ गतेदेखि नेप्से वेबसाइटको मार्केट डेप्थमा अड लट खरिद तथा विक्री आदेश देख्न सकिने बनाएको हो ।
यसबाट आफुसँग अड लट धितोपत्र हुँदा खरिदविक्री गर्न नपाएको भन्ने लगानीकर्ताको गुनासो सम्बोधन हुने विश्वास नेप्सेले लिएको छ । धितोपत्र कारोबार विनियमावली, २०७५ मा अड लट कारोबार सम्बन्धी व्यवस्था छ । यस अनुसार धितोपत्रको अंकित मूल्य १० रुपैयाँ भएमा १०० कित्ता, अंकित मूल्य १०० रुपैयाँ भएमा १० कित्ता र अंकित मूल्य १००० रुपैयाँ भएमा एक कित्ताको कारोबारलाई बोर्ड लट भनिन्छ ।
विनियमावलीले उल्लिखित भन्दा कम कित्ताको कारोबारलाई अड लट कारोबार भनेर परिभाषित गरेको छ । अड लट कारोबारलाई मूल्य परिवर्तन सीमा र बजार परिसूचक गणनामा समावेश गरिदैन । धितोपत्रधनीले बोर्ड लटमा भएको धितोपत्रलाई टुक्र्याएर अड लट बनाउन नपाउने व्यवस्था विनियमावलीमा छ ।