
सम्पन्न भयो कृषि तथा घरेलु उद्यमी मेला र दशैं महोत्सव २०८१



काठमाडौँ । देशको अर्थतन्त्रलाई आत्मनिभर अर्थतन्त्रमा रुपान्तरण गर्नका लागि घरेलु तथा साना उद्योगहरुको ठूलो भूमिका हुने भन्दै सरोकारवालाहरुले यस्ता उद्योगहरुको प्रवद्र्धन र विकासलाई राज्यले प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका छन् ।
“नेपाली उत्पादनको प्रवद्र्धन हाम्रो अभियान” भन्ने मूल नाराका साथ राजधानीको राष्ट्रिय सभागृह परिसरमा चलिरहेको दोस्रो जिल्ला स्तरीय उद्योगी मेला र दशैं महोत्सव २०८१ को समापन समारोहमा उनीहरुले त्यस्तो बताएका हुन् ।
घरेलु तथा साना उद्योग संघ काठमाडौं र काठमाडौं महानगरपालिकाको संयुक्त रुपमा गत बुधबारदेखि शुरु भएको थियो । मेलाको समापन समारोहमा बोल्दै घरेलु तथा साना उद्योग संघ काठमाडौंकी अध्यक्ष पद्म कुमारी कार्कीले अर्थतन्त्रको खम्बाका रुपमा रहेका लघु, घरेलु तथा साना उद्योहरुको प्रवद्र्धन गर्नुपर्नेमा जोड दिंदै स्थानीयस्तरमा रहेका साना उद्यमीहरुको मनोबल बढाउनुपर्ने आवश्यकता औंल्याइन।
घरेलु तथा साना उद्यमीद्धारा उत्पादन गरिएका वस्तुहरुलाई प्रवद्र्धनका साथै बजारीकरण गरी स्वदेशी उद्योगद्धारा उत्पादित वस्तुहरुको उपभोगमा बृद्धि गरी बेरोजगारीलाई केही हदसम्म कमी ल्याउने प्रदर्शनीको उद्देश्य रहेको उनले बताइन ।
काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा उद्यमशीलता तालिम लिएर उद्यमी भन्ने यात्रामा लागेका उद्यमीहरुले कसरी गुणस्तरीय उत्पादन गर्ने, कसरी कजारीकरण गर्ने, ब्राण्डिङ गर्ने विषयमा अनुभव आदान प्रदान गर्नका लागि प्लेटफर्मका रुपमा मेला आयोजना गरिएकोमा उनको जोड थियो।
काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईले लघु, घरेलु तथा साना उद्योग नै अर्थतन्त्रको आधार भएको यस्ता उद्योगहरुको प्रवद्र्धनका लागि महानगरपालिकाले प्राथमिकताका साथ काम गरिरहेको बताए।
काठमाडौँ महानगरपालिकाले १५ वटा वडामा ‘एक वडा, एक नमुना उद्यम कार्यक्रम’ सुरु गरेको जानकारी दिंदै बाँकी १७ वटा वडामा पनि छिट्टै शुरु गरिन लागेको जानकारी दिंदै उनले लघु, घरेलु तथा साना उद्योगीहरुको प्रवद्र्धनका लागि सरोकारवालासँग छलफल र सहकार्यबाट अगाडि बढ्नेमा जोड दिएको अवस्था छ ।
टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सेर बहादुर बीसीले लघु, घरेलु तथा साना उद्योगहरुको प्रवद्र्धन र विकासमा राज्यले नीतिगत रुपमा धेरै कुराको व्यवस्था गरेपनि व्यवहारीक रुपमा कार्यान्वयन हुन नसकेको बताउँदै देशको अर्थतन्त्रलाई आत्मनिभर अर्थतन्त्रमा रुपान्तरण गर्नका लागि घरेलु तथा साना उद्योगहरुको ठूलो भूमिका हुने भएपनि यसका लागि धेरै काम हुन नसकेको र नेपाली रैथाने उत्पादनलाई नेपालीहरुले प्रयोग गर्ने गरी आन्तरिक बजारमा स्थापित हुन सक्दैनन तबसम्म हाम्रो अर्थतन्त्र पनि दिगो हुन नसक्ने बताए।
काठमाडौं महानगरपालिका सामाजिक विकास विभाग प्रमुख समिक्षा निरौलाले अर्थतन्त्रमा महत्वपूर्ण योगदान तथा लघु, घरेलु तथा साना उद्योहरुको प्रवद्र्धन र बजारीकरणमा सघाउन प्रदर्शनी आयोजना गरिएको बताइन।
दश दिनको प्रदर्शनी सामग्री र वस्तुको मात्रै प्रदर्शनी नभएर उद्यमी महिलाहरुको घैर्यता, मेहनतको पनि प्रदर्शन भएको भन्दै महानगरपालिकाले लघु, घरेलु तथा साना उद्यमीहरुको आर्थिक र सामाजिक रुपान्तरण गर्ने परिकल्पनाका सम्बाहक र मेरुदण्ड नै यस्ता उद्यमी भएको उनले स्पष्ट पारिन।
प्रदर्शनीमा स्थानीय खानाका परिकार, अल्लो, ढाका र गार्मेन्टका मौलिक उत्पादन, अचार, छोप, मह, कृष्टलका गहना, ओखलमा प्रत्यक्ष कुटेका च्युरालगायतमा अवलोकनकर्ताहरुको आकर्षण देखिएको छ ।
यस्तै प्रदर्शनीमा सिस्नो, केरा, गाँजा, बाँस, केतुकी, भूँइकटहरलगायतका प्राकृतिक रेशाबाट बनेका कपडाका उत्पादन, कर्णाली तथा हिमाली क्षेत्रका मौलिक परिकार तथा अन्य उत्पादन, नेपाली जुत्ता उपभोक्ताहरुले मन पराएका थिए ।
घरेलु तथा साना उद्योग संघ काठमाडौंका सचिव तथा मेला संयोजक जितेन्द्र कुमार श्रेष्ठले काठमाडौं महानगरपालिकाका ३२ वटै वडाका लघु, घरेलु, साना तथा महिला उद्यमीहरुको सहभागितामा आयोजना गरिएको औद्योगिक प्रदर्शनीमा सबै वडामा सञ्चालित उद्योगहरुको सहभागिता रहेको बताए।
प्रदर्शनीमा काठमाडौं जिल्लाका चन्द्रागिरी नगरपालिका, टोखा नगरपालिका, नागार्जुन नगरपालिका, उद्योग तथा वाणिज्य कार्यालय काठमाडौंको सहकार्य र सहआयोजना रहेको थियो ।
प्रदर्शनीमा लघु घरेलु तथा साना उद्योगका उत्पादन, स्थानीय खानाका परिकार तथा मौलिक उत्पादन, प्राकृतिक रेशाजन्य उत्पादन, स्वदेशी जुत्ता, अचार, छोप, फेल्ट, ढाका र अल्लो, जुम्ला र मुस्ताङका अर्गानिक उत्पादन, कस्मेटिक, गार्मेन्ट, हस्तकलाका उत्पादन, अर्गानिक फलफुल, चोयाको सामान, तयारी पोशाक, कृष्टलका गहना तथा सामग्री, ढाकाका कपडा, ओखलमा कुटेका च्युरा, अर्गानिक अचार र छोप, मखमलका जुत्तालगायतका उत्पादन, काष्ठकलाका सामग्री, प्लाष्टिकबाट पुनःप्रयोगबाट बनाइएका कलात्मक वस्तु, बाँसको जराबाट बनाइएका कलात्मक वस्तुलगायतका ७० वटा स्टल रहेका थिए ।
समापन समारोहमा घरेलु तथा साना उद्योग संघ काठमाडौंका उपाध्यक्ष इश्वर गुरुङ, काठमाडौं महानगरपालिका प्रशासन विभाग प्रखुख ध्रुव काफ्ले, कानुन विभाग प्रमुख बसन्त आचार्य, लेखा विभाग प्रमुख डा. शिवराज अधिकारी, उद्यमशीलता विकास सहजकर्ता देवकी घिमिरेलगायतले बोलेका थिए भने प्रदर्शनीमा सहभागी उद्यमीहरुले पनि आफ्ना अनुभव राखेका थिए।



