
तनहुँको जीपी कोइराला राष्ट्रिय स्वासप्रस्वास केन्द्रमा सुविधा थप्न भारतको चासो



काठमाडौं । भारत सरकारले शुक्लागण्डकी नगरपालिकाको बेलचौतारास्थित जीपी कोइराला राष्ट्रिय स्वासप्रस्वास केन्द्रलाई तीन सय शैय्या र उपकरणसहित अस्पताल निर्माण शुरु गर्न सम्झौता गर्ने जानकारी दिएको छ ।
भारत भ्रमणमा रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल र भारतीय जनता पार्टीका अध्यक्ष एवं स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी नड्डाबीच नयाँ दिल्लीस्थित निर्वाण भवनमा भएको द्विपक्षीय वार्ताका क्रममा भारतले यस्तो प्रतिबद्धता जनाएको हो ।
सोही क्रममा मन्त्री पौडेलले प्रस्ताव गरेको ट्रमा सेन्टरको स्तरोन्नति, डायलसिस सेवा थप्नका लागि आवश्यक सहयोगमा पनि सघाउने मन्त्री नड्डाले प्रतिबद्धता जनाए ।
यसैगरी, सर्पदंशका बिरामीको उपचार र डिजिटल हेल्थ अभियान कार्यान्वयनका लागि सघाउन स्वास्थ्य तथा जनसंख्या मन्त्री पौडेलले गरेको आग्रहमा पनि भारतीय समकक्षी नड्डाले सघाउने प्रतिबद्धता बताएका छन् ।
अब केही समयमा यसबारे दिव्पक्षीय समझदारी गर्ने सहमति भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य सेवा विभागका महानिर्देशक डाक्टर विकास देवकोटाले जानकारी दिए ।
मन्त्री पौडेलले नेपाल भ्रमणका लागि दिएको निम्तोसमेत भारतीय समकक्षी नड्डाले स्वीकारेका छन् ।
‘नेपालको स्वास्थ्य पूर्वाधार विकासमा भारतले महत्वपूर्ण योगदान दिएको छ,’ भेटपछि मन्त्री पौडेलले भने, ‘भारतीय पक्षबाट प्राप्त सहयोग प्रतिबद्धताले सम्बन्ध अझ प्रगाढ बनाउन मद्दत गर्नेछ ।’
विश्व स्वास्थ्य संगठनको क्षेत्रीय सम्मेलनका लागि भारत रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्री पौडेलले आज साँझ सम्बोधन गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।


