गरिमा क्यापिटल र स्टार माइक्रो इन्स्योरेन्स बीच आइपिओ प्रत्याभूतिकर्ता नियुक्तिको सम्झौता
काठमाडौं । गरिमा क्यापिटल लिमिटेड र स्टार माइक्रो इन्स्योरेन्स बीच हिजो आइपिओ प्रत्याभूति व्यवस्थापनको कार्य गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको थियो । इन्स्योरेन्स कम्पनीले आइपिओ निष्काशन गर्न लागेको कुल कित्ता २२ लाख ५० हजारको १०० का दरले हुन आउने कुल रकम बाइस करोड पचास लाख रुपैयाँ बराबरको प्रत्याभूति गर्ने सम्झौता गरेको हो ।
गरिमा क्यापिटल लिमिटेडको कमलपोखरी स्थित प्रधान कार्यालयमा क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) निर्मल भट्टराई र स्टार माइक्रो इन्स्योरेन्स कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विश्व राम तिमिलाले असोज २० गते उक्त सम्झौता पत्रमा हस्ताक्षर गरे ।
स्टार माइक्रो इन्स्योरेन्स कम्पनी २०७९ पुष १४ मा दर्ता भइ २०८० भदौ १ गतेदेखि निर्जीवन लघु बीमा कम्पनी हो । गरिमा विकास बैंकको सहायक कम्पनी गरिमा क्यापिटल नेपाल धितोपत्र बोर्डबाट अनुमति पत्र प्राप्त मर्चेन्ट बैंकर हो । यस संस्थाले हाल लगानी व्यवस्थापन सेवा, निक्षेप सदस्य, डिम्याट तथा मेरो शेयर खाता सम्बन्धी र धितोपत्र अण्डरराइटिङ सेवा प्रवाह गर्दै आएको छ ।
त्यस्तै, निकट भविष्यमा नै कोष सुपरिवेक्षक र कोष प्रवद्र्धकको प्रचलित कानुन बमोजिम आवश्यक स्वीकृति लिई गरिमा म्युचुअल फण्ड अन्तर्गत विभिन्न बन्दमुखी तथा खुल्लामुखी योजनाहरु क्रमशः दर्ता तथा सञ्चालन गर्दै अगाडी बढाउने जानकारी समेत गराएको हो । गरिमा क्यापिटल लिमिटेडका सम्पूर्ण सेवाहरु ग्राहक समक्ष पुर्याउन गरिमा विकास बैंक लिमिटेडका सम्पूर्ण शाखा कार्यालयहरुबाट सहजिकरण हुँदै आएको छ । यस संस्थाले आफ्ना सेवाहरु अझ परिस्कृत र ग्राहकमैत्री तवरबाट प्रवाह गर्नको लागी अन्य व्यवसायिक साझेदारी सम्झौताहरु मार्फत नवीनतम प्रविधिहरुको प्रयोग गर्दै अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गरेको अवस्था छ ।