

हुम्लाको सिमकोटमा अनलाइनबाटै नागरिकताको सिफारिस वितरण सुरु




सिमकोट । जिल्ला सदरमुकामस्थित सिमकोट गाउँपालिकाले सोमबारदेखि अनलाइन प्रणालीमार्फत नागरिकताको सिफारिस दिन सुरु गरेको अवस्था छ । नागरिकता माणपत्रसम्बन्धी प्रक्रियालाई थप व्यवस्थित र प्रविधिमा आधारित बनाउने उद्देश्यका साथ सिमकोट गाउँपालिकाले वडा–४ बुराउँसेबाट यो सेवा दिन थालेको जनाइएको हो ।
त्यस्तै, सोमबार पहिलो दिन एक महिला र दुई पुरुषलाई अनलाइनमार्फत सिफारिस प्रदान गरिएको गाउँपालिकाका सूचना अधिकारी छिरिङ युङ्डुङ लामाले बताए । उनका अनुसार गाउँपालिकाले केन्द्रीकृत नागरिकता सूचना व्यवस्थापन प्रणाली (सीसीआइएमएस) अनुसार सिफारिस दिन थालेको हो । यो प्रणाली सुरु भएपछि सिमकोटले सेवाग्राहीबाट आवश्यक कागजपत्र लिएर अनलाइनमार्फत सिफारिस गर्ने उनले जानकारी दिए ।
यता, अनलाइन प्रणाली सुरु भएपछि अभिलेखीकरणमा सहजता, सेवा प्रवाहमा छिटोछरितो र प्रविधिमैत्री सेवा प्रवाह हुने, झुटो र कीर्ते विवरण भरेर नागरिकता लिने कार्य अन्त्य हुने गाउँपालिका सूचना अधिकारी लामाले बताए।
साथै, विद्युतीय व्यवस्थाले सबै प्रणालीलाई एकीकृत गर्न र दस्तावेज कायम गर्न सहज हुनेछ । वडा–४ बुराउँसेबाट सुरु भएको यो सेवा अब प्रत्येक वडामा लागू हुने बताइएको हो।