

हिमालयन लाइफले बोलायो साधारणसभा




काठमाडौं । राजधानीस्थित (मेरियट होटल नजिकै), नक्साल, नागपोखरीमा कार्यालय रहेको हिमालयन लाइफ इन्स्योरेन्सले असार १० गते आफ्नो अठारौं वार्षिक साधारणसभा सम्पन्न गर्ने भएको छ। सोही प्रयोजनका लागि कम्पनीको जेठ १९ गते बसेको सञ्चालक समितिको बैठकबाट नक्सालस्थित आम्रपाली ब्याङ्क्वेटमा बिहान साढे १० बजे सभा डाकिएको हो।
यता, सोही वार्षिक साधारण सभाले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट कम्पनीको चुक्ता पूँजी ९ अर्ब १४ करोड ३२ लाख ३७ हजार रूपैयाँको ८ प्रतिशत नगद लाभांश ९कर सहित० वितरणको प्रस्ताव पारित गर्ने जनाइएको छ।
त्यस्तै, सोही सभाबाट गत आवको वार्षिक र लेखापरीक्षकको प्रतिवेदन लगायतका वित्तीय विवरणहरू पास गर्नेदेखि चालू आवको लागि लेखापरीक्षकको नियुक्ति गर्ने र उनको पारिश्रमिक तोक्ने तालिका तय भएको छ। सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अधिकार दिने र गत आवमा भएको खर्च अनुमोदन गर्ने प्रस्ताव समेत पास हुने कम्पनीले बताएको छ।
साथै, सभा तथा लाभांश वितरण प्रयोजनार्थ हिमालयन लाइफले जेठ २८ गते १ दिन बुक क्लोज गर्ने भएकाले जेठ २७ गतेसम्म कायम शेयरधनीहरु मात्रै सभामा उपस्थित हुनेदेखी लाभांश लिन सक्षम हुने बताइएको हो ।