

प्रधानमन्त्रीले उद्घाटन गरे पूर्व–पश्चिम राजमार्ग गोन्द्राङ–पुल्चोक ६ लेन सडक, लागत १ अर्ब बढी




काठमाडौं । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व–पश्चिम राजमार्गअन्तर्गत चितवनस्थित गोन्द्राङ–पुल्चोक ६ लेन सडक उद्घाटन गरेका छन्।
सोही उद्घाटन समारोहमा प्रधानमन्त्रीले ओली, उपप्रधानमन्त्री प्रकाशमान सिंह, भौतिक मन्त्री देवेन्द्र दाहाल र भरतपुर महानगरकी मेयर रेनु दाहाल उपस्थित भएर संयुक्त रूपमा सडक उद्घाटन गरेका हुन्। गोन्द्राङ पुल्चोक ६ लेनको सडक शुक्रबार दिउँसो उद्घाटन गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
नेपाल सरकारको लगानीमा निर्मित भैरहवा, वीरगञ्ज, पोखरा र काठमाडौंको मध्यभागमा पर्ने उक्त सडक एसियाली मापदण्डअनुसार बनाइएको छ। उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देश विकासमा पूर्वाग्रह र मतभेद नराखी काम गर्न आग्रह गर्दै पूर्व–पश्चिम राजमार्गलाई थप फराकिलो बनाइने बताए।
‘अहिले चुनाव लाग्या पनि छैन र चुनाव प्रचार गर्नु परेको पनि छैन। त्यतापट्टि गइहाल्नुपर्ने आवश्यकता पनि छैन। म आग्रह गर्न चाहान्छु, सबैलाई सधैं राजनीति मात्रै, सधैं चुनाव मात्रै होइन विकासमा ध्यान दिउँ। हामीले एक भएर देश बनाउनुपर्नेछ। मतभेदमा होइन एकतामा जोड दिउँ,’ उनले भने।
साथै, विचारमा विविधता हुनसक्छ तर देशको विकास गर्ने कुरामा मतभेद राख्न आवश्यक नरहेको उनले बताए। ‘देशको विकास हामी सबै मिलेर गर्ने हो। कोही आएर हाम्रो देश बनाउँदैन। आफ्नो बलमा लोकतन्त्रलाई बलियो बनाउँदै राष्ट्रिय एकताका साथ एकजुट भएर अघि बढेर विकास गर्नुपर्छ,’ प्रधानमन्त्री ओलीले भने। उक्त सडक १ अर्ब १३ करोड ३५ लाख ३४ हजारमा लागतमा निर्माण भएको जनाइएको छ।