
महालक्ष्मी विकास बैंकको नाफामा उच्च वृद्धि, अन्य सूचक कस्ता ?

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडको नाफामा उल्लेख्य वृद्धि देखिएको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार नाफामा ४८ प्रतिशतको वृद्धि भएको हो ।
विवरण अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा बैंकको खुद नाफा, खुद ब्याज आम्दानी र प्रतिसेयर आम्दानीमा सुधार देखिएको छ । बैंकले गत आर्थिक वर्षमा ६२ करोड ९९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो आवको भन्दा ४८.४० प्रतिशतले धेरै हो । बैंकले अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासिकसम्ममा ४२ करोड ४३ लाख रुपैयाँ नाफा कमाएको थियो ।
बैंकको खुद ब्याज आम्दानी पनि बढेको छ । बैंकले गत आर्थिक वर्षमा खुद ब्याज आम्दानी २ अर्ब १४ करोड रुपैयाँ पुगेको छ । यो अघिल्लो आवको तुलनामा १०.६९ प्रतिशतले बढी हो । अघिल्लो वर्षको बैंकको खुद ब्याज आम्दानी १ अर्ब ९४ करोड रुपैयाँ रहेको थियो । त्यस्तै, बैंकको सञ्चालन नाफा अघिल्लो वर्षको ६१ करोड १४ लाख रुपैयाँ रहेकोमा गत आर्थिक वर्षमा ५३.४१ प्रतिशतले वृद्धि भई ९३ करोड ७९ लाख रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा बैंकले इम्पेयरमेन्ट चार्जबापत ३१ करोड ५६ लाख रुपैयाँ छुट्याएको छ, जुन अघिल्लो आर्थिक वर्ष ५१ करोड ७३ लाख रुपैयाँ थियो ।
असार मसान्तसम्मको खुद वितरणयोग्य नाफा ४६ करोड ५१ लाख ४४ हजार रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षको सञ्चित नाफाबाट बोनस सेयर र नगद लाभांश भुक्तानी समायोजन गरेपछि गत असार मसान्तसम्मको कुल वितरणयोग्य नाफा ४६ करोड ५१ लाख ९८ हजार रुपैयाँ कायम भएको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर वितरणयोग्य नाफा १० रुपैयाँ ३१ पैसा रहेको छ ।
बैंकको चुक्ता पूँजी ४ अर्ब ५१ करोड १२ लाख रुपैयाँ पुगेको छ । सञ्चित नाफा र अन्य जगेडा कोष गरी बैंकको कुल इक्विटी ७ अर्ब ४६ करोड २६ लाख रुपैयाँ पुगेको छ । बैंकले ग्राहकहरूबाट ५५ अर्ब ९९ लाख रुपैयाँ निक्षेप सङ्कलन गरेको छ भने ग्राहकहरूलाई ४३ खर्ब ३४ करोड १३ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको कुल सम्पत्ति ६५ अर्ब ५ करोड ७० लाख रुपैयाँ रहेको छ । बैंकको प्रतिसेयर आम्दानी १३ रुपैयाँ ९६ पैसा र प्रतिसेयर नेटवर्थ १६५ रुपैयाँ ४२ पैसा रहेको छ ।

