


बीमाक्षेत्रको अबकोबाटो-चुनौतीलाई चिर्दै समाधानतर्फ केन्द्रित हुने : नियामक र कम्पनीहरुको एकस्वर



काठमाडौं । आईतबार बीमा क्षेत्रको नियमनकारी निकाय नेपाल बीमा प्राधिकरण तथा बीमा कम्पनीहरुका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरुले एकै छानामुनि उभिएर बीमा क्षेत्रको अबको बाटो चुनौतीपूर्ण रहेको स्वीकार गरेका छन् । बीमा प्राधिकरणका नव नियुक्त अध्यक्ष शरद ओझा सहित बीमा कम्पनीका सीईओहरुले बीमा क्षेत्रमा विद्यमान विभिन्न चुनौतीहरु रहे पनि अबको बाटो त्यसको समाधानमा जोड दिनुपर्ने बताएका हुन् ।
आज इकोनोमिक मिडीया सोसाइटी (इमान) ले राजधानीको पहिलो भाटभटेनी नजिकै आयोजना गरेको कार्यक्रममा बीमा प्राधिकरणका अध्यक्ष ओझाको स्वागत तथा बीमा क्षेत्रको आगामी बाटो पहिल्याउँने क्रममा कम्पनीहरुले त्यस्तो बताएका हुन् ।
कार्यक्रमका बिचमा बीमा विज्ञ डा. रबिन्द्र घिमिरे समेत उपस्थित थिए ।
सोही कार्यक्रममा अध्यक्ष ओझाले बीमा कम्पनीका प्रत्येक सीईओहरुसँग आफूले एक-एक गरेर बिस्तृत विवरण लिइरहेको सुनाए । उनले स्थलगत रुपमा नै कम्पनीका प्रमुखहरुबाट समस्या र अवसरहरुको बारेमा आफूले जानकारी राख्दै त्यसलाई नजिकबाट नियालेको बताएका हुन् ।
कार्यक्रममा नेपाल लाइफ इन्स्योरेन्सका सीईओ प्रविणरमण पराजुलीले बीमा क्षेत्रमा देखिएका चुनौतीलाई अवसरमा बदल्दै जानु पर्ने बताए । उनले व्यावसायीकरणको ठूलो महत्व हुने, दीर्घकालिन व्यवसाय गर्ने लक्ष्य , राज्यका नीति, बीमा क्षेत्रमा भर्खर उदायका बीमा नियमावली, बीमा ऐन, बीमा कम्पनीले ल्याएका प्रोडक्टहरु, विभिन्न उत्पादनहरुले ठूलो अर्थ राख्ने बताए । सीईओ पराजुलीले बजेट निर्माणको संघारमा सबैजना उभिएको बेलामा बीमा कम्पनीहरुले तिनुपर्ने मोटो रकमका फजुल करदेखि नागरिकहरुमा राज्यले लादेको कर नीतिका प्रतिउत्पादक चोटसम्मलाई सम्बोधन गर्न भ्याए ।
कार्यक्रममा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सका सीईओ शिवनाथ पाण्डेले बीमा क्षेत्रले युवा अध्यक्ष पाएकोमा नयाँ आईडिया, नयाँ सोचाईले यस उद्योगमा रहेका कतिपय पुराना जोखिमहरुमा समाधान (रक्षावरण) मिल्ने बताए । उनले बजारमा वास्तविक समस्या जे छ, रिक्स बेस्ड क्यापिटल, सरेण्डर, बीमा चेतनाको कमी त्यसकै अप्रेसन गर्न सबैजना लाग्नु पर्ने भाव व्यक्त गरे ।
बीमा दर्पण डटकम :मिरोर अफ इन्स्योरेन्स
यता,बीमा विज्ञ डा.रबिन्द्र घिमिरेले आफू समस्याहरुको लाइन लागाउँने हो भने एक सटमा ५०, ५५ वटा समस्या देखाउँन सक्ने बताए । तर, उनले त्यस्ता समस्याका समाधान नै अबको निष्कर्श हुने बताए । सुरुवाती चरणमा आफूलाई बीमाको विज्ञ हुँ भन्ने लागे पनि आफूले लामो कार्य अनुभवबाट बीमाको बारेमा आफू शुन्य दशमलव केही प्रतिशत मात्रै जानकार रहेको भन्दै बीमा क्षेत्रमा अनुभवको ठूलो खाँचो हुँने औँल्याए । उनले कही व्यंग्यात्मक शैली अपनाएको देखिथ्यो भने कहिले नियामक निकायको जनशक्तीलाई तुरुन्तै दक्ष बनाउँन गम्भिर हुनुपर्नेसम्मका अभिव्यक्ती दिए । बिज्ञ घिमिरेले आगामी दिनमा संस्थागत रुपमा नै बीमा क्षेत्र सुधारका लागि यसक्षेत्रलाई निजकबाट बुझ्ने, नियाल्ने, माया गर्ने र नजिक हुनुपर्ने, सबैले हातेमालो गर्नु पर्ने बताए ।
एनएलजी इन्स्योरेन्सका सीईओ सुनिल बल्लभ पन्तले नयाँ अध्यक्षले बीमा क्षेत्रमा छुट्टै मार्ग चित्र कोर्ने विश्वास व्यक्त गरे । उनले सबै सुशासित हुनुपर्ने भन्दै हरेक युग, हरेक प्रहर, हरेक मिनेटमा चुनौती र अवसर सँगसँगै जोडिने प्रष्ट पारे । सीईओ पन्तले प्राकृतिक विपत्तीले पछिल्ला वर्षहरुमा विभिन्न प्रकारका असरहरु छोडिरहेको बेलामा बीमा क्षेत्रले नविनतम प्रोडक्टको प्रयोग गर्नुपर्ने सुनाए । उनले अन्तिममा नौलो प्रशंग जोड्न भ्याए, बीमा क्षेत्र अर्कै अरबिटमा पुगोस् । तर, उनले सो अरबिट कस्तो अरबिट हो ? हालको अरबिट र आगामी अरबिट बिच ठूलो-सानो कस्तो भिन्नता हुनुपर्नेछ ? भन्नेमा खासै जोड दिएनन् । नयाँ र राम्रो (थप उज्वल) अरबिटको बारेमा उनले शुभकामना दिएको भाव बुझ्न सकिन्थ्यो ।
सोही कार्यक्रममा प्रभु इन्स्योरेन्सका सीईओ संचित बज्राचार्य, आईजिआई प्रुडेन्सियल इन्स्योरेन्सका डिसीईओ शरण रेग्मी, नेपाल माइक्रो इन्स्योरेन्सका उच्च व्यवस्थापक लगायत बीमा क्षेत्रका अन्य उच्च पदस्थ कर्मचारीहरुको उपस्थिती रहेको थियो । कतिपय सीईओहरुले आफू राजधानी बाहिर रहेकाले कार्यक्रममा सहभागी हुन नपाएको बताउँदै कार्यक्रमको सफलताको कामना गरेका थिए ।
सीईओहरुलाई बीमा कम्पनीहरुको साझा संस्था जीवन बीमक संघ, निर्जीवन बीमक संघ तथा लघु जीवन बीमक संघकोतर्फबाट निमन्त्रणा गरिएको बताइएको छ ।