आकर्षक गोकुलधुप झरना : गोकुलेश्वर पुग्ने पदमार्ग निर्माण
काठमाडौं । नुवाकोट शिवपुरी आठस्थित काफलडाँडामा रहेको आकर्षक गोकुलधुप झरना, प्रचारप्रसार र पूर्वाधार विकासको अभावमा ओझेलमा परेको थियो। बुधबार, स्थानीय बासिन्दाहरूले झाडी फाडेर पदमार्ग निर्माण गरेपछि, यो झरनासम्म पुग्न सजिलो भएको हो।
गोकुलधुप झरना राजधानी काठमाडौंबाट लगभग १ घण्टाको दूरीमा रहेको यस झरना वाइक वा निजी गाडीबाट सजिलै पुग्न सकिन्छ। वाइकबाट झरेर झरनासम्म पुग्न करिब चार–पाँच मिनेट पैदल हिडेर पूगिने यस झरनाको सौन्दर्यले जोकोहीलाई मोहित पार्न सक्छ। चैजु नारायणको काखबाट झरिरहेको पानीको आकर्षक छहरा, वरिपरि हरियालीले ढाकिएको प्रकृतिको अनुपम उपहार यो स्थल सर्वसाधारणको आकर्षण स्थलका रुपमा विकास हुन थालेको छ । झरनामा नुहाउन, थकान मेटाउन, भिडिओ बनाउन सर्वसाधारणको भीड बढ्न थालेको छ । एकपटक पुगेपछि तपाईंले प्रकृतिको अनमोल उपहार र शान्त वातावरणको अनुभव प्राप्त गर्ने निश्चित छ।
साथै, यो झरनामा धार्मिक महत्त्व पनि जोडिएको छ। भगवान कृष्णले यसै झरनामा नुहाएको र वहाँले पाइला टेकेकाले नै गोकुल धुपको विरुवा यहाँ उम्रिएको विश्वास छ।
स्थानीय बासिन्दा दामोदर पाण्डेका अनुसार, छिट्टै यस क्षेत्रमा थप पर्यटकीय विकासका कामहरू सुरु गरिने योजना छ। यदि प्रचारप्रसार र पूर्वाधार विकास गरियो भने, गोकुलधुप झरना नुवाकोटको प्रमुख पर्यटकीय आकर्षणका रूपमा स्थापित हुन सक्छ। यो प्राकृतिक सुन्दरताको स्थल गर्मीको समयमा शीतलता प्राप्त गर्ने र विश्राम लिने एक प्रमुख स्थलको रूपमा विकसित गर्न सकिन्छ।
गोकुलधुप झरनामा पर्यटकहरूका लागि आवश्यक जानकारी
नुवाकोटको शिवपुरी गाउँपालिका–८ स्थित काफलडाँडामा अवस्थित गोकुलधुप झरना गोकुलेश्वर प्राकृतिक सुन्दरताको अनुपम नमूना हो। वरिपरिका हरियाली जंगल, शीतलता दिने पानीको छहरा, र धार्मिक महत्त्वले यो स्थललाई पर्यटकीय आकर्षणको केन्द्र बनाएको छ। झरनामा आउने पर्यटकहरूका लागि यहाँ केही महत्वपूर्ण जानकारी प्रस्तुत गरिएका छन्, जसले तपाईंको यात्रा थप सहज र रमणीय बनाउनेछ।
झरनासम्मको यात्रा
गोकुलधुप झरना राजधानी काठमाडौंबाट लगभग १ घण्टाको दूरीमा रहेको छ। नुवाकोट जिल्लाको शिवपुरी गाउँपालिकामा पर्ने यो स्थल काठमाडौंबाट सामाखुसी, गुरुजेभञ्याङ काफलडाँडा सम्म टोखा छहरे सडक हुदै वाइक वा निजी गाडीबाट सजिलै पुग्न सकिन्छ। मुख्य मार्गमा झरेर झरनासम्म पुग्न करिब चार–पाँच मिनेट पैदल हिँड्नुपर्छ। हालै स्थानीय बासिन्दाहरूले पदमार्ग निर्माण गरेका छन्, जसले यात्रा अझ सहज बनाएको छ।
गोकुलधुप झरनाको विशेषता
गोकुलधुप झरनाको पानी वर्षभरि निरन्तर बगिरहन्छ, जसले गर्मीको मौसममा शीतलता दिन्छ। झरनाको वरिपरि हरियाली जंगलले घेरिएको छ, जसले यसलाई प्राकृतिक सौन्दर्यले भरिपूर्ण बनाएको छ। यो झरना प्राकृतिक मात्र नभई धार्मिक महत्त्वले पनि भरिपूर्ण छ। स्थानीय बुढापाकाका अनुसार, भगवान कृष्णले यस झरनामा स्नान गरेका थिए र उहाँले पाइला टेकेको ठाउँमा गोकुल धुपको विरुवा उम्रिएको विश्वास गरिन्छ।
प्राकृतिक र साहसिक गतिविधिहरू
झरनासम्मको यात्रा मात्र होइन, यो क्षेत्र साहसिक गतिविधिहरूका लागि पनि उपयुक्त छ। ट्रेकिङ र हाइकिङका साथै झरनाको वरिपरि वनस्पति र जीवजन्तुको अवलोकन गर्दै प्रकृतिको आनन्द लिन सक्नेछन्। यसबाहेक, प्राकृतिक सुन्दरताको अवलोकन र फोटोग्राफी गर्नेहरूका लागि यो स्थल महत्वपूर्ण गन्तव्य हो।