
पोखरामा दाइँ हाल्दै, धान चुट्दै रमाए विदेशी पर्यटक
कास्की । पोखरा महानगरपालिका–२९ नौबिसेटोलमा शनिबार आयोजित दाइँ महोत्सवमा विदेशी पर्यटकले नेपाली परम्परागत कृषि प्रणालीको अनुभव लिएका छन् ।
कोही धान चुट्न त कोही गोरु धपाउन सहभागी भए । उनीहरूका लागि हिमालको पृष्ठभूमिमा परम्परागत रूपमा धान थन्क्याउने दृश्य नौलो र रमाइलो बन्यो ।
‘पोखरा सबै मौसमका लागि’ भन्ने नारासहित पोखरा महानगरपालिका र पोखरा पर्यटन परिषद्को आयोजना तथा नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा तेस्रो संस्करणको दाइँ महोत्सव आयोजना गरिएको हो ।
धान काटेर खाली भएको खेतमा बिहानैदेखि दाइँको रौनक थियो । कोही कुन्यूँबाट धान निकालेर चुट्दै थिए भने कोही गोरु नारेर दाइँ गरिरहेका थिए । महिलाहरू गुन्द्री बुन्न प्रयोग हुने पराल छान्न व्यस्त थिए । खेतका कान्लामा बसेर स्थानीयको परम्परागत कृषि गतिविधि नियालिरहेका विदेशी पर्यटकमध्ये केही आफैँ सहभागी भएर रमाए ।
इङ्ल्यान्डका पर्यटक मार्कले गोरु धपाएर दाइँको अनुभव लिए । दुई साताका लागि नेपाल आएका उनी पदयात्रामा जाने योजनामा छन् । हिमालको पृष्ठभूमिमा धानको महोत्सवमा सहभागी भएर गोरु धपाउन पाउँदा खुसी लागेको उनले बताए । ‘गोरु धपाउने मेरो पहिलो अनुभव हो । यसबारे स्वदेश फर्किएर साथीहरूलाई सुनाउनेछु’, उनले भने ।
दुई महिनाका लागि अन्नपूर्ण क्षेत्रमा पदयात्रा गर्न आएकी जापानी पर्यटक हितुमीले पनि गोरु धपाउने अनुभव रमाइलो लागेको बताइन् । धान चुट्ने काम भने कठिन लागेको उनको भनाइ थियो ।
चिनियाँ पर्यटक सन्देशले नेपाल र चीनको परम्परागत कृषि प्रणाली मिल्दोजुल्दो रहेको बताए । आधुनिक प्रविधिको प्रयोग बढ्दै गएकाले नयाँ पुस्तालाई परम्परागत खेती प्रणालीबारे जानकारी गराउनुपर्ने उनको धारणा थियो । ‘आजभोलि ट्याक्टर र मेसिन आएका छन् । अबका बच्चालाई धान कसरी उत्पादन हुन्छ भन्ने कुरा सिकाउनुपर्छ’, उनले भने ।
पोखरामा बढ्दो सहरीकरण र बदलिँदो जीवनशैलीसँगै लोप हुँदै गएको परम्परागत कृषि प्रणाली नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो । महोत्सवमा स्थानीयवासी, विभिन्न विद्यालयका विद्यार्थी तथा बालबालिकाको पनि सहभागिता थियो ।
महोत्सव संयोजक एवं पोखरा पर्यटन परिषद्का प्रथम उपाध्यक्ष हरिराम अधिकारीले परम्परागत खेती प्रणालीको संरक्षण, स्थानीय उत्पादनको प्रवर्द्धन र खेतीयोग्य जमिनको संरक्षणमा महोत्सवले सहयोग पुग्ने बताए । यसले किसानलाई आफ्नो पेसाप्रति प्रोत्साहित गर्नुका साथै आन्तरिक तथा बाह्य पर्यटकको गतिविधि बढाएर कृषि पर्यटनको विकासमा योगदान पुर्याउने उनको विश्वास छ ।
पोखरा महानगर प्रमुख धनराज आचार्यले पर्यटन प्रवर्द्धन होटलमा पर्यटक ल्याएर राख्ने विषयमा मात्र सीमित नहुने बताए । पोखराको प्रकृति, संस्कृति र मौलिक परम्परा पर्यटकसमक्ष प्रस्तुत गर्नु पनि पर्यटन विकासको महत्त्वपूर्ण पक्ष भएको उनको भनाइ थियो ।
त्यस्तै, पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलले परम्परागत कृषि संस्कृति, ग्रामीण जीवनशैली र स्थानीय उत्पादनलाई पर्यटनसँग जोड्ने उद्देश्यले महोत्सव आयोजना गरिएको बताए । उनका अनुसार असारमा हुने रोपाइँ महोत्सवमा सहभागी पर्यटकले धान कसरी भित्र्याइन्छ भन्ने चासो देखाएपछि दाइँ महोत्सव सुरु गरिएको हो ।
महानगरको आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले पनि सहरीकरणका कारण ओझेलमा पर्दै गएको परम्परागत कृषि प्रणालीको संरक्षण र नयाँ पुस्तामा हस्तान्तरण गर्न महोत्सव उपयोगी हुने बताए ।
महोत्सवमा धान चुट्ने, दँदेरी, गुन्द्री बुन्ने र लठ्ठो तान्ने प्रतियोगिता सञ्चालन गरिएको थियो । साथै, सबैभन्दा धेरै धान उत्पादन गर्ने उत्कृष्ट किसानलाई सम्मान गरिएको थियो ।


