
लक्ष्मी सनराइज बैंकले बोलायो साधारणसभा, लाभांश प्रस्ताव पारित गर्ने
काठमाडौं । लक्ष्मी सनराइज बैंकले वार्षिक साधारणसभा आह्वान गरेको छ । बैंकको मंसिर २ गते बसेको सञ्चालक समितिको बैठकले आगामी मंसिर २५ गतेका लागि आप्नो २६ औँ वार्षिक साधारणसभा बोलाएको हो ।
बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने लाभांश सहितका प्रस्ताव पारित गर्नका लागि साधारणसभा बोलाएको छ । सभा अग्रवाल भवन, कमलपोखरी, काठमाडौंमा बिहान १० बजेदेखि सुरु हुने छ । सभामा सामान्य प्रस्तावका रुपमा २६ औँ वार्षिक साधारण सभाको लागि सञ्चालक समितिको प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको २०८३ असार मसान्तको वासलात तथा सोही मितिमा समाप्त आ.व. २०८२/०८३ को नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण र सम्बन्धित अनुसूचीहरु (सहायक कम्पनी समेत) छलफल गरी स्वीकृत गर्ने, बैंकको लेखापरीक्षण समितिको सिफारिश वमोजिम आ.व. २०८३/०८४ को लागि लेखापरीक्षक नियुक्ति गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने र बैंकको सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको ०.२६ प्रतिशतका दरले रु. ६,९६,३१,०२५.०० (अक्षरेपि रु छ करोड छयानब्बे लाख एकतिस हजार पच्चिस मात्र) बराबर नगद लाभांश (बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि) वितरण गर्ने प्रस्ताव माथि छलफल गरि पारित गर्ने छ ।
त्यस्तै विशेष प्रस्ताबका रुपमा बैंकको सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम बैंकको हालको चुक्ता पूँजीको ५ प्रतिशतका दरले रु. १,३३,९०,५८,१७३.०० (अक्षरेपि रु एक अर्ब तेत्तिस करोड नब्बे लाख अन्ठाउन्न हजार एक सय त्रिहत्तर मात्र) बराबरको बोनस सेयर स्वीकृत गर्ने, उल्लिखित बोनस सेयर जारी गर्नका लागि आवश्यक हदसम्म अधिकृत, जारी तथा चुक्ता पूँजी वृद्धि गर्ने र विशेष प्रस्ताव नं. (१) र (२) सम्बन्धी प्रस्ताव कार्यान्वयनका लागि बैंकको प्रवन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने सम्बन्धी प्रस्ताव पारित गर्ने र प्रस्तावित संशोधनमा नियमनकारी निकायहरुवाट कुनै फेरवदल वा सुझाव आएमा आवश्यक संसोधन ÷ समायोजन गर्न बैंकको सञ्चालक समिति (वा सञ्चालक समितिले तोकेको कुनै पदाधिकारी) लाई अख्तियारी दिने छ ।
साधारणसभा तथा लाभांश प्रयोजनका लागि बैंकले मंसिर १४ गतेका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यस अनुसार मंसिर ११ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्रै सभामा भाग लिन र बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।


