
‘फेस अफ लिटिल स्टार २०८३’ को अभिमुखीकरण कार्यक्रम सम्पन्न
काठमाडौं । बालबालिकाभित्र लुकेको प्रतिभा उजागर गर्दै उनीहरूको आत्मविश्वास, व्यक्तित्व विकास तथा सिर्जनशीलतालाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको फेस अफ लिटिल स्टार २०८३ सिजन १ को अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । मंसिर ६ गते आइतबार चाबहिलस्थित विनायक सिद्ध कलेजको प्लस टु भवनमा आयोजित उक्त कार्यक्रममा सहभागी बालबालिका तथा अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
यसअघि सम्पन्न अडिसन प्रक्रियामा विभिन्न विद्यालयका गरी कुल १३० जना बालबालिकाहरूले सहभागिता जनाएका थिए । कार्यक्रममा अभिभावक तथा सहभागी बालबालिकाहरूलाई कार्यक्रमको उद्देश्य, सञ्चालन प्रक्रिया, प्रशिक्षण तथा ग्रान्ड फिनालेसम्मका गतिविधिबारे जानकारी गराइएको थियो । कार्यक्रममा सांगीतिक तथा सांस्कृतिक प्रस्तुतिहरूले थप आकर्षण थपेका थिए । ‘होस्टेल ३’ का ‘प्रेम गीत’ का गायक युकेश रावल तथा हालै सार्वजनिक म्युजिक भिडियोमा आफ्नो स्वर दिएका गायक सुशन सुन्दासले आफ्ना सांगीतिक प्रस्तुति दिएका थिए । त्यसैगरी, रोशनी तामाङले स्वागत नृत्य प्रस्तुत गरेकी थिइन् ।
उक्त सांगीतिक प्रस्तुति तथा म्युजिक भिडियोका गीतहरूको शब्दरचना कार्यक्रमका म्युजिक डिभिजन डाइरेक्टर महेश ज्ञवालीले गरेका थिए । सुनौलो संसार म्यानेजमेन्ट प्र्रालीद्वारा आयोजना गरिएको यस कार्यक्रमले बालबालिकाको प्रतिभा पहिचान गर्नुका साथै उनीहरूमा आत्मविश्वास, सञ्चार क्षमता, नेतृत्व क्षमता, अनुशासन तथा व्यक्तित्व विकास गर्ने लक्ष्य राखेको छ ।कार्यक्रमअन्तर्गत सहभागी बालबालिकाहरूलाई डान्स, गायन, अभिनय, व्यक्तित्व विकास, सञ्चार सीप, स्टेज कन्फिडेन्स, फेसन तथा ग्रुमिङलगायतका विभिन्न विधामा प्रशिक्षण प्रदान गरिनेछ ।


