
एसिया कप राइजिङ स्टार्स क्रिकेट : पाकिस्तानले नेपाललाई दियो १६९ रनको लक्ष्य
काठमाडौं । कतारमा जारी एसिया कप राइजिङ स्टार्स क्रिकेटको मंगलबार जारी खेलमा पाकिस्तानको ‘ए’ टोली (पाकिस्तान शाहिन्स)ले नेपाललाई जितका लागि एक सय ६९ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङको निर्णय लिएको पाकिस्तान शाहिन्सले ४२ ओभरमा अलआउट हुनुअघि एक सय ६८ रन बनायो । जारी प्रतियोगितामा हालसम्म अपराजित रहेको पाकिस्तानी टोलीविरुद्ध नेपाली टोलीका बलरहरुले अब्बल प्रदर्शन गरे ।
रासिद खानले ५ विकेट लिए । अभिशेष गौतमले २, कप्तान सन्दीप लामिछानेले १ र कुशल भुर्तेलले पनि १ विकेट हात पारे । ‘लिस्ट ए’ प्रतियोगितामा अभिशेषको यो ‘डेब्यू’ खेल पनि हो । पाकिस्तानका माथिल्लो क्रमका ब्याट्रले गतिलो प्रदर्शन गर्न सकेनन् । प्रतियोगिताको साविक विजेतासमेत रहेको पाकिस्तानका लागि आठौँ नम्बरका ब्याटर रोहेल नाजिरले सर्वाधिक ६८ रन बनाए ।
पाकिस्तानका लागि हसन नवाजले पनि २८ रन जोडे । हैदर अलीले १५ रन जोडे । माज सदाकत र कप्तान अब्दुल समादले १३–१३ रन बटुले । जारी प्रतियोगितामा पाकिस्तान हालसम्म अपराजित छ । पाकिस्तानले आफ्नो पहिलो खेलमा यूएईलाई ६१ रनले र दोस्रो खेलमा चिरप्रतिद्वन्द्वी भारतलाई ४८ रनले हराएको थियो ।
नेपाल र पाकिस्तान दुबैले समूहगत चरणमा आफ्नो अन्तिम खेल खेलिरहेका हुन् । प्रतियोगितामा सहभागी दुई समूहमा विभाजन गरिएको छ ।
प्रत्येक समूहबाट दुई–दुई टोली प्रतियोगिताको सेमिफाइनलमा पुग्ने प्रावधान छ । समूह ‘ए’बाट श्रीलंका ६ अंकसहित पहिलो र बंगलादेश चार अंकसहित दोस्रो हुँदै सेमिफाइनलमा पुगिसकेका छन् ।
समूह ‘ए’मा भने तीन खेलबाट चार अंक जोडेको भारत पहिलो, दुई खेलबाट चार अंक बटुलेको पाकिस्तान दोस्रो र दुई खेलबाट दुई अंक हात पारेको नेपाल तेस्रो स्थानमा छन् । तीनवटै खेलमा बाहिरिएको यूएई भने उपाधि होडबाट बाहिरिएको छ । यो खेलमा नेपालले पाकिस्तानलाई हराए तीनवटा टोलीको चार–चार अंक हुनेछ ।
त्यसपछि, नेट रन रेटका आधारमा सेमिफाइनलमा पुग्ने दुई टोलीको टुंगो लाग्नेछ । नेट रन रेटमा भारत र पाकिस्तानभन्दा नेपाल निकै पछाडि छ । हालको स्थितिमा भारतको नेट रन रेट ३.५२३, पाकिस्तानको नेट रन रेट १.०९० र नेपालको नेट रन रेट –२.४६१ रहेको छ ।


