
मकवानपुरमा गाँजासहित चार जना पक्राउ
हेटौँडा । मकवानपुरमा प्रतिबन्धित लागूऔषध गाँजासहित चार जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा मातहतका कार्यालयबाट खटिएको संयुक्त प्रहरी टोलीले मङ्सिर ७ गते दुई छुट्टाछुट्टै स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार हेटौँडा उपमहानगरपालिका–९, कुखरेनीबाट मोटरसाइकलमा सवार दुई जनालाई ९२० ग्राम गाँजाको धुलो जस्तो (पोलार) पदार्थसहित पक्राउ गरिएको छ।
बा.प्र. ०२-०५० प ६१३२ नम्बरको मोटरसाइकलमा सवार हेटौँडा–१३ बस्ने २१ वर्षीय जोसु तामाङ र हेटौँडा–१४ बस्ने २३ वर्षीय अमन तामाङलाई शङ्का लागेर खानतलासी गर्दा उक्त पदार्थ फेला परेको प्रहरीले जनाएको छ।
त्यस्तै, भीमफेदी गाउँपालिका–१, टौबास कोलनीबाट थप दुई जना गाँजासहित पक्राउ परेका छन्। बा.प्र. ०२-०५७ प ०७६३ नम्बरको मोटरसाइकलमा सवार धादिङको गजुरी गाउँपालिका–८ बस्ने २१ वर्षीय अमिर तामाङ र १९ वर्षीय समर बलको साथबाट तीन किलो २१० ग्राम गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले चारै जनालाई नियन्त्रणमा लिएर बरामद लागूऔषधसहित आवश्यक कारबाही तथा थप अनुसन्धान अघि बढाएको जनाएको छ।


