
कात्तिकमा ट्राफिक नियम उल्लङ्घन गर्ने १२ हजार ९६७ चालक कारबाहीमा
काठमाडौं। काठमाडौं उपत्यकामा कात्तिक महिनामा ट्राफिक नियम उल्लङ्घन गर्ने १२ हजार ९६७ जना सवारीचालक कारबाहीमा परेका छन्। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार कात्तिक १ देखि २९ गतेसम्म गरिएको कारबाहीमा सबैभन्दा बढी मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने चालक रहेका छन्।
कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार उक्त अवधिमा मापसे गरी सवारी चलाउने २ हजार ८९२ जना र लागुपदार्थ सेवन (लापसे) गरी सवारी चलाउने ७८ जना चालक कारबाहीमा परेका छन्। यस अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने कुल १२ हजार ९६७ जना चालक कारबाहीमा परेको कार्यालयले जनाएको छ।
मापसे र लापसे गरी सवारी चलाउँदा सडक दुर्घटनाको जोखिम बढ्ने भएकाले ट्राफिक प्रहरीले नियमित जाँच तथा निगरानी गर्दै आएको छ। मादक पदार्थ तथा लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउने कार्य प्रचलित कानुनले निषेध गरेको छ।
सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ तथा प्रचलित कानुनी व्यवस्थाअनुसार मापसे र लापसे गरी सवारी चलाउने चालकलाई कारबाही गर्ने व्यवस्था रहेको छ। ट्राफिक प्रहरीले सवारीचालकलाई ट्राफिक नियमको पालना गर्न तथा मादक पदार्थ र लागुपदार्थ सेवन गरेर सवारीसाधन नचलाउन आग्रह गरेको छ।


