
काठमाडौंबाट रारा जाँदै गरेको पर्यटक सवार जीप मुगुमा दुर्घटना, तीनजना गम्भीर
सुर्खेत । काठमाडौंबाट रारा घुम्न आएका पर्यटक सवार बोलेरो जीप मुगुमा दुर्घटना हुदा पाँचजना घाइते भएका छन् । रारा जाने क्रममा बा १७ च १२६४ नम्बरको जीप सडकबाट करिब तीन सय मिटर तल खसेको हो । दुर्घटनामा तीनजना गम्भीर घाइते भएका छन् भन् थप दुईजना घाइतेको अवस्था मध्यम रहेको बताइएको छ ।
जीपमा चालकसहित चार पुरुष र एक महिला सवार थिए । दुर्घटनामा गम्भीर घाइते हुनेमा काठमाडौंको कलंकीका ५० वर्षीय विजय बस्नेत, ५४ वर्षीय रमेश बिडारी र ५० वर्षीय पूर्णकुमार थापा रहेका छन् । चालकसमेत रहेका थापा जीपका धनी हुन् ।
त्यस्तै, दुर्घटनामा ललितपुर महानगरपालिका–१५ का ५८ वर्षीय कञ्चन थापा र ५४ वर्षीया अञ्जु थापा मध्यम घाइते भएका छन् । जीपमा सवार पाँचैजना काठमाडौं उपत्यकाका बासिन्दा रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनाको खबर पाएलगत्तै जिल्ला प्रहरी कार्यालय मुगुबाट प्रहरी निरीक्षक पदमबहादुर खत्रीको नेतृत्वमा १० जना र ताल्चास्थित प्रहरी युनिटबाट प्रहरी नायब निरीक्षक डम्बरबहादुर अधिकारीको नेतृत्वमा सात जना गरी १७ जना प्रहरीको टोली घटनास्थल पुगेको थियो ।
प्रहरी टोलीले दुर्घटनामा घाइते भएकाहरूको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल मुगु पठाएको छ । दुर्घटना कसरी भयो भन्नेबारे खुल्न नसकेको प्रहरीले जनाएको छ ।


