
दूध बेचेर आत्मनिर्भर, दुई जनालाई रोजगारी
काठमाडौँ । सूर्योदय नगरपालिका-८ कजेनीका दिनेश महतले व्यावसायिक गाई पालनबाट राम्रो आम्दानी गर्दै दुई जना स्थानीय युवालाई रोजगारीसमेत दिएका छन् ।
चार वर्षअघि रु. ३० लाख लगानीमा ‘बिएण्डएम कृषि तथा पशुपालन फार्म’ सञ्चालन गर्नुभएका महतको फार्ममा हाल १० माउ गाई छन् । तीमध्ये पाँच दुहुना र पाँच वटा चाँडै बियाउने स्थितिमा छन् । फार्ममा १४ बाच्छी पनि हुर्किरहेका छन् ।
उनले दैनिक ५० देखि ६० लिटर दूध उत्पादन गरी प्रतिलिटर रु ५५ देखि ६० सम्ममा नजिकैको सहकारीमा बिक्री गर्दै आएका छन् । दूध बिक्रीबाट वार्षिक करिब रु. ११ लाख आम्दानी हुने उनले बताए । लगानीअनुसार दूधको मूल्य कम पाएको उनको गुनासो छ ।
गाईपालनबाट स्वरोजगार बन्नुभएका महतले फार्ममा दुई युवालाई खानबस्न सुविधासहित मासिक रु. १८ हजार तलब दिएर रोजगारी दिए । फार्म सञ्चालनका लागि ३० रोपनी जमिनमा सुपर नेपियर, अम्रिसो तथा अन्य प्रजातिका घाँस लगाएका छन् ।
गाई पालनसँगै उनले १०० रोपनी जग्गा भाडामा लिएर ४० रोपनीमा व्यावसायिक स्कुस र बाँकी क्षेत्रमा चिया खेतीसमेत गर्दै आएका छन् । गाईको मल आफ्नै कृषि खेतीमा प्रयोग गर्ने गरेको उनले बताए।
गाउँमै बसेर विदेशमा भन्दा राम्रो आम्दानी गर्न सकिने सन्देश दिन आफूले व्यावसायिक कृषि तथा पशुपालन रोजेको महत बताउँछन् । युवालाई स्वदेशमै स्वरोजगारी गर्न प्रेरित गर्नुपर्नेमा उनको जोड छ ।


