
एनपीएलमा आज कर्णाली र चितवन तथा काठमाण्डौ र पोखरा खेल्ने
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजन अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेल कर्णाली याक्स र चितवन राइनोजबीच दिउँसो साढे १२ बजे हुनेछ । दोस्रो खेल काठमाण्डौ गोर्खाज र पोखरा एभेन्जर्सबीच बेलुकी ५ बजे हुनेछ ।
प्लेअफ समीकरणका हिसाबले काठमाण्डौ र पोखराबीचको आज हुने दोस्रो खेल महत्त्वपूर्ण छ । पोखरालाई पराजित गर्न सके काठमाण्डौ पहिलो क्वालिफायरमा स्थान बनाउनेछ । काठमाण्डौका लागि आजको खेल जित्नैपर्ने दबाब छ ।
पहिलो खेलमा भने प्लेअफ दौडबाट बाहिरिसकेको कर्णाली याक्सले चितवन राइनोजसँग खेल्नेछ । कर्णाली र पोखरा दुवै टोली अन्तिम खेलमा जित निकाल्दै प्रतियोगिताको सुखद अन्त्य गर्ने लक्ष्यमा हुनेछन् ।
चितवनका लागि भने कर्णालीसँगको खेल प्लेअफ सम्भावना बलियो बनाउने अवसर हुनेछ । लिग चरणका शीर्ष दुई टोलीले पहिलो क्वालिफायर खेल्नेछन् भने तेस्रो र चौथो स्थानका टोलीले एलिमिनेटर खेल्नेछन् ।
पहिलो क्वालिफायर पर्सि हुनेछ । हिजो लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई ४ विकेटले पराजित गर्दै नेपाल प्रिमियर लिगको क्वालिफायरमा स्थान बनाएको छ । हारसँगै विराटनगर लिग चरणबाटै बाहिरिएको छ भने लुम्बिनी, सुदूरपश्चिम, काठमाण्डौ र चितवन प्लेअफमा पुग्ने टोली बनेका छन् ।


