
न्युजिल्यान्डसँग भारतकाे ठूलाे अन्तरकाे पराजय, ८९ रनमा अलआउट
काठमाडौं । चौथो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा घरेलु टोली न्युजिल्यान्डले भारतलाई २४४ रनले हराएको छ ।न्युजिल्यान्डले दिएको ३३४ रनको लक्ष्य पछ्याएको भारतले २६ ओभर ४ बलमा ८९ रन बनाउँदा सबै विकेट गुमायो । भारतका ईशान किशनले सबैभन्दा धेरै २७ रन बनाए । न्युजिल्यान्डका म्याट हेनरीले ६ विकेट लिए ।
हेनरीले खेलको पहिलो ओभरमै रोहित शर्मा, विराट कोहली र कप्तान श्रेयस अय्यरको विकेट लिए । भारतका तीन प्रमुख ब्याटर शून्यमा आउट भए । यसअघि माउन्ट माउन्गानुईमा रहेको बे ओभलमा टस हारेर ब्याटिङ गरेको न्युजिल्यान्डले ५० ओभरमा सबै विकेट गुमाएर ३३३ रन बनाएको थियो । न्युजिल्यान्डका विल योङले १२५, टिम साइफर्टले ५८ रन बनाए । भारतका आकिब नबी, गुर्नुर ब्रार र अक्षर पटेलले २/२ विकेट लिए ।
एकदिवसीय क्रिकेटमा रनको अन्तरका हिसाबले भारतको दोस्रो ठूलो हार हाे । यसअघि सन् २००० मा भारत श्रीलङ्कासँग २४५ रनले पराजित भएकाे थियाे । पाँच खेलको शृङ्खलामा भारत २–१ ले अघि छ । शृङ्खलाको अन्तिम खेल पर्सि आइतवार हुनेछ ।


