
नेसनल लाइफको नाफा साढे १२ करोड माथि, जीवन बीमा कोष १ खर्ब बढी हुँदा अन्य सूचक कस्ता ?
काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिक (साउन–असोज)सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार चालु आवको तीन महिनासम्मको अवधिमा कम्पनीले साढे १२ करोड भन्दा बढी नाफा आर्जन गरेको छ ।
कम्पनीले चालु आर्थिक वर्षको पहिलो तीन महिनासम्मको अवधिमा १२ करोड ५६ लाख रुपैयाँ नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १०.७९ प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १४ करोड ८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
समीक्षा अवधिसम्म कम्पनीको जीवन बीमा कोषमा १ खर्ब ८ अर्ब ४५ करोड २६ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्ष यही अवधिसम्म जीवन बीमा कोषमा ९३ अर्ब ६३ करोड ५२ लाख रुपैयाँ थियो । अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको जीवन बीमा कोषको आकार १५.८२ प्रतिशतले बढेको छ ।
चालु वर्षको असोजसम्म कम्पनीले ७ अर्ब ३९ करोड ७२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । गत वर्षको सोही अवधिसम्म कम्पनीले ५ अर्ब ७२ करोड ६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । यो अवधिमा कम्पनीको कुल बीमाशुल्क आर्जन २९.३१ प्रतिशतले बढेको छ । कम्पनीले समीक्षा अवधिसम्म ७ अर्ब १९ करोड ५६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्ष कम्पनीले ५ अर्ब ५२ करोड ९४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन ३०.१३ प्रतिशतले बढेको छ ।
५ अर्ब ६९ करोड १६ लाख रुपैयाँ चुक्तापुँजी रहेको कम्पनीको समीक्षा वर्षसम्म सेयर प्रिमियममा २ करोड ७८ लाख रुपैयाँ, महाविपत्ति कोषमा ७५ करोड ८५ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ६० करोड ४९ लाख रुपैयाँ र अन्य इक्विटीमा ३२ करोड ६७ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्ष असार मसान्तसम्म सेयर प्रिमियममा २ करोड ७८ लाख रुपैयाँ, महाविपत्ति कोषमा ७४ करोड ५९ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ४८ करोड ९८ लाख रुपैयाँ र अन्य इक्विटीमा ३१ करोड ५६ लाख रुपैयाँ थियो ।
चालु आर्थिक वर्षको असोजसम्म कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) घटेर ८.८३ रुपैयाँ कायम भएको छ । गत वर्ष ईपीएस १०.३० रुपैयाँ थियो । पीई रेसियो ६४.८९ गुणा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ १३०.१९ रुपैयाँ रहेको छ ।


