
रुसी अन्तर्राष्ट्रिय चलचित्र पिचिङ कार्यक्रममा नेपाली निर्देशक राज सरगमको सहभागिता
काठमाडौं । निर्देशक राज सरगम (राजकुमार लामिछाने)ले रुसमा आयोजना हुने अन्तर्राष्ट्रिय चलचित्र पिचिङ कार्यक्रममा आफ्नो चलचित्र परियोजना प्रस्तुत गर्ने भएका छन् ।
रुसको नेसनल सेन्टर ‘रसिया’ले बिहीबार आयोजना गर्न लागेको ‘सिनेमा एज अ टुल फर फाइटिङ फ्युचरसक’ कार्यक्रममा सरगमले आफ्नो चलचित्र परियोजना ‘गादी : द सेक्रेट प्लेस’ प्रस्तुत गर्ने भएका हुन् ।
कार्यक्रममा विश्वभरका युवा चलचित्रकर्मीले भविष्यप्रतिको चिन्ता र डरलाई सकारात्मक परिदृश्यमा रूपान्तरण गर्ने चलचित्र परियोजना प्रस्तुत गर्नेछन् । कार्यक्रममा सहभागी हुन विदेशी चलचित्रकर्मीबाट १७ वटा आवेदन परेकोमा उत्कृष्ट परियोजनाहरू छनोट भएका हुन् । छनोट भएका परियोजनामध्ये नेपालको ‘गादी : द सेक्रेट प्लेस’ पनि परेको छ ।
निर्देशक सरगमको चलचित्रले नेपाली समाजमा प्रचलित परम्परा, आस्था, लैङ्गिक भूमिका र सांस्कृतिक पहिचानका विषयलाई उठाएको छ । चलचित्रकी मुख्य पात्र भवानी नेपालकै एक गाउँकी १६ वर्षीया किशोरी हुन् । उनी व्याख्या गर्न नसकिने शारीरिक कम्पनको समस्याबाट पीडित भएपछि समाजमा स्थापित मान्यता र परम्परालाई चुनौती दिन बाध्य हुन्छिन् ।
आध्यात्मिक तथा सामाजिक अधिकार पुरुषमा मात्र सीमित रहेको समाजमा भवानीले आफ्नो भाग्य आफैँ निर्धारण गर्ने प्रयास गर्छिन् । चलचित्रले सांस्कृतिक पहिचान जोगाउँदै महिला र युवालाई समान अधिकार र पहिचान दिन सकिने सन्देश प्रस्तुत गरेको छ ।
चलचित्रको एउटा निर्णायक दृश्यमा पुरुषले भवानीलाई काँधमा बोक्छन् । नेपाली परम्परामा धामीझाँक्रीलाई मात्र यसरी बोक्ने प्रचलन रहेको सन्दर्भमा उक्त दृश्यलाई सांस्कृतिक परम्परा र लैङ्गिक समानताबीचको सम्बन्धको प्रतीकका रूपमा प्रस्तुत गरिएको छ ।
निर्देशक सरगमले लैङ्गिक समानता र पुस्तौँदेखि चल्दै आएका सामाजिक मान्यतामाथि प्रश्न उठाउने स्वतन्त्रतासम्बन्धी चिन्ताले चलचित्र निर्माण गर्न प्रेरित गरेको बताएका छन् । सांस्कृतिक परम्परालाई समावेशी बनाउँदै त्यसको मौलिकता कायम राख्न सकिने सम्भावना चलचित्रमार्फत खोजिएको उनको भनाइ छ ।
नोभेम्बर १३ सम्म आयोजना हुने तेस्रो अन्तर्राष्ट्रिय सिम्पोजियम ‘क्रिएटिङ द फ्युचर’को प्रमुख कार्यक्रमका रूपमा चलचित्र पिचिङ आयोजना हुँदैछ । रुसको विज्ञान तथा प्रविधि दशकअन्तर्गत परराष्ट्र मन्त्रालय र विज्ञान तथा उच्च शिक्षा मन्त्रालयको सहयोगमा सिम्पोजियम आयोजना हुन लागेको हो ।


