
किताबसँगै जीवनको सीप सिक्दै विद्यार्थी
हेटौँडा। सामान्यतया घरमा आमाबुबाले छोराछोरीलाई नयाँ कुरा सिकाउँछन् तर मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१८ हर्नामाडीकी सपना ढुङ्गानाको घरमा केही दिनअघि फरक दृश्य देखियो । कक्षा ४ मा अध्ययनरत छोरी अधिश्री दाहालले आमालाई पुराना कागजबाट नयाँ कागज बनाउने तरिका सिकाइन् ।
विद्यालयमा सिकेर आएको सीप छोरीले आफूलाई समेत सिकाएपछि ढुङ्गाना खुसी भइन् । खेर गएका कागजलाई पुनःप्रशोधन गरेर नयाँ कागज बनाउन सकिने कुरा छोरीबाटै थाहा पाउनु उनका लागि नौलो अनुभव थियो । “मेरी छोरीले विद्यालयमा खेर गएका कागजबाट नयाँ कागज बनाउन सिकेकी छन् । उनले मलाईसमेत कागज कसरी बनाउने भनेर सिकाइन्”, ढुङ्गानाले भनिन् । अधिश्री हर्नामाडीस्थित मकवानपुर बाल विद्या सदन विद्यालयमा अध्ययनरत छिन् । विद्यालयले सञ्चालन गरेको ‘स्किल क्याम्प’मा सहभागी भएर उनले कागज पुनःप्रशोधन गर्ने सीप सिकेकी हुन् । कक्षा ४ का विद्यार्थीले पुराना कागजबाट नयाँ कागज मात्र बनाएनन्, आफूले तयार गरेको कागजमा छपाइसमेत गरेर देखाए ।
विद्यालय परिसरमा पुग्दा कतै परालबाट गुन्द्री बुन्ने काम चलिरहेको थियो भने कतै विद्यार्थीले निर्माण गरेका उपकरण प्रदर्शन भइरहेका थिए । केही विद्यार्थी परम्परागत सामग्री बनाउन व्यस्त थिए । केहीले भने आधुनिक प्रविधिमा आधारित उपकरण कसरी काम गर्छन् भन्ने जानकारी गराइरहेका थिए । पाठ्यपुस्तकका अक्षर र कक्षाकोठाको पढाइभन्दा बाहिर निस्किएर विद्यार्थी आफैँ काम गर्दै सिकिरहेको यो दृश्य विद्यालयको ‘स्किल क्याम्प’को हो ।
विद्यालयले ‘एक कक्षा, एक सीप’ अवधारणाअनुसार विद्यार्थीलाई कक्षा १० उत्तीर्ण गर्दासम्म कम्तीमा १० वटा व्यावहारिक सीप सिकाउने लक्ष्य राखेको छ । विद्यार्थीमा सिर्जनशीलता, आत्मनिर्भरता र उद्यमशीलताको विकास गर्ने उद्देश्यले तीन वर्षदेखि सञ्चालन हुँदै आएको क्याम्पको तेस्रो संस्करण शुक्रबार सम्पन्न भएको हो ।
विद्यालयका प्रधानाध्यापक सुदीपराज गिरीका अनुसार दसैँ–तिहार बिदापछि विद्यालय खुलेको पहिलो एक साता विद्यार्थीलाई विभिन्न जीवनोपयोगी सीप सिकाउने गरिएको छ । चाडपर्वको लामो बिदापछि विद्यालय फर्किएका विद्यार्थीलाई सिर्जनात्मक गतिविधिमा सहभागी गराउँदै नियमित पठनपाठनसँग जोड्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको उनले जानकारी दिए ।
विद्यालयले विद्यार्थीको उमेर र कक्षाअनुसार फरक–फरक सीप निर्धारण गरेको छ । कक्षा ३ सम्मका विद्यार्थीले स्वास्थ्य तथा व्यक्तिगत सरसफाइसम्बन्धी अभ्यास गरेका छन् । कक्षा ४ मा कागज पुनःप्रशोधन, कक्षा ५ मा बुनाइ र कक्षा ६ मा कलासम्बन्धी गतिविधि सञ्चालन गरिएको थियो । कक्षा ७ का विद्यार्थीले भने परालबाट परम्परागत गुन्द्री बुन्न सिकेका छन् । विद्यालय परिसरमै आवश्यक सामग्रीको व्यवस्था गरी उनीहरूलाई गुन्द्री तयार गर्ने अभ्यास गराइएको थियो ।
कक्षा ७ की विद्यार्थी सायास्ता परियार पनि गुन्द्री बुन्ने अभ्यासमा सहभागी भएकी थिइन् । यसअघि नजानेको सीप विद्यालयमै सिक्न पाउँदा खुसी लागेको उनले बताइन् । गुन्द्री बनाउन पराल तयार गर्नेदेखि बुन्नेसम्मको अभ्यास गर्दा नयाँ अनुभव प्राप्त भएको उनको भनाइ छ । घरपरिवारमा पहिले दैनिक प्रयोग हुने गुन्द्रीजस्ता सामग्री कसरी तयार हुन्छन् भन्ने कुरा विद्यार्थीले आफ्नै हातले अभ्यास गरेर सिकेका छन् । आधुनिक सामग्रीको प्रयोग बढ्दै जाँदा परम्परागत सीपसँग नयाँ पुस्तालाई परिचित गराउने प्रयाससमेत विद्यालयले गरेको छ ।
परम्परागत सीप सिकिरहेका विद्यार्थीको छेउमै आधुनिक प्रविधिको अभ्यास पनि चलिरहेको थियो । कक्षा ८ का विद्यार्थीले रोबोटिक्स तथा विद्युतीय प्रविधिमा आधारित उपकरणका नमुना निर्माण गरेका थिए । उनीहरूले तयार गरेका उपकरण प्रदर्शनीमा राखेर त्यसको प्रयोग र उपयोगिताबारे जानकारी गराएका थिए ।
कक्षा १० का विद्यार्थीले भने क्याम्प सञ्चालनमा स्वयंसेवकका रूपमा सहयोग गरेका थिए । प्रधानाध्यापक गिरीका अनुसार विद्यालयले विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला र गणितलाई व्यावहारिक अभ्याससँग जोड्ने ‘स्टिम’ शिक्षण अवधारणालाई समेत कार्यक्रममा समावेश गरेको छ । विद्यार्थीलाई पाठ्यपुस्तकको ज्ञानमा मात्र सीमित नराखी दैनिक जीवनमा आवश्यक काम आफैँ गर्न सक्ने बनाउने उद्देश्यले सीपमूलक शिक्षालाई प्राथमिकता दिइएको उनले बताए ।
अभिभावक ढुङ्गानाले क्याम्पमा सहभागी भएपछि बालबालिकामा नयाँ कुरा सिक्ने उत्साह बढेको अनुभव सुनाइन् । उनका अनुसार चाडपर्वको बिदापछि विद्यालय जान बालबालिका उत्साहित हुने गरेका छन् । नियमित कक्षामा फर्किनुअघि फरक किसिमका गतिविधिमा सहभागी हुन पाउँदा विद्यार्थीले रमाउँदै सिक्ने अवसर पाएका छन् । “एकपटक कुनै सीप सिकेपछि त्यसबाट अरू कुरा पनि आफैँ खोजेर सिक्ने बानीको विकास हुँदोरहेछ”, ढुङ्गानाले भनिन् ।
उनले बालबालिकाको सिर्जनशीलता र व्यावहारिक कामप्रतिको रुचिमा सकारात्मक परिवर्तन देखिएको बताइन् । यस्ता गतिविधिलाई विद्यालयको पाठ्यक्रमसँग अझ व्यवस्थित रूपमा जोड्न सके विद्यार्थीको सिकाइ प्रभावकारी हुने उनको सुझाव छ । विद्यालयमा विद्यार्थीले परम्परागत सीप र प्रविधि मात्र होइन, उत्पादन गरेको सामग्री कसरी बिक्री गर्ने भन्ने विषयसमेत सिकिरहेका छन् ।
कक्षा ९ मा अध्ययनरत सोनु अधिकारीले यस वर्ष तिहारलाई लक्षित गरी मैनबत्ती उत्पादन तथा बजारीकरणको अभ्यास गरिन् । कक्षाका विद्यार्थीले समूह बनाएर मैनबत्ती उत्पादनदेखि बिक्रीसम्मको काम गरेका थिए । कसैले सामग्री सङ्कलन, कसैले उत्पादन र कसैले बजारीकरणको जिम्मेवारी लिएका थिए । सोनुका बुबा पुरुषोत्तम अधिकारीका अनुसार उनकी छोरीले बजारीकरणको जिम्मेवारी पाएकी थिइन् । विद्यालयमा भएको कामबारे छोरीले घरमा सुनाएपछि उनले मैनबत्तीको उत्पादन लागत, बिक्री मूल्य र नाफाबारे चासो राखे ।
उनका अनुसार विद्यार्थीले उत्पादन लागतमा करिब ४० प्रतिशत नाफा राखेर मैनबत्तीको बिक्री मूल्य निर्धारण गरेका थिए ।
विद्यालयमा सिकेको कुरा घरमा आएर छोरीले व्यवसायसँग जोडेर छलफल गर्न थालेपछि अधिकारी खुसी छन् । कुनै सामग्री उत्पादन गर्नु मात्र पर्याप्त नहुने, त्यसको लागत, बजार मूल्य र सम्भावित नाफाको हिसाब पनि गर्नुपर्ने ज्ञान विद्यार्थीले हासिल गरेको उनको भनाइ छ । “आफूले उत्पादन गरेको वस्तु कतिमा बेच्दा नाफा हुन्छ र बजार मूल्यअनुसार कसरी अघि बढ्नुपर्छ भन्ने ज्ञान विद्यार्थीले हासिल गर्नु खुसीको कुरा हो”, अधिकारीले भने । विद्यालयमा पढ्ने, लेख्ने र परीक्षा दिने मात्र नभई दैनिक जीवनमा उपयोगी हुने सीप सिक्नु आवश्यक रहेको उनको बुझाइ छ ।
विद्यालयको सिकाइ घरपरिवारमा समेत देखिन थालेको उनी बताउँछन् । बालबालिकाले सरसफाइ र वातावरण संरक्षणसम्बन्धी सिकेका कुरा घरमा समेत लागू गर्ने गरेका छन् । कहिलेकाहीँ आफूले फोहर व्यवस्थापनमा ध्यान नदिँदा बालबालिकाले सचेत गराउने गरेको उनले सुनाए । अधिकारीले सीपमूलक शिक्षामा अभिभावकको सहभागिता पनि उत्तिकै आवश्यक रहेको बताए । विद्यार्थीले तयार गरेका सामग्रीको प्रदर्शनी अवलोकन गर्ने, उनीहरूलाई प्रोत्साहन गर्ने र विद्यालयमा सिकेका कुरा घरमा अभ्यास गर्ने वातावरण बनाउनुपर्ने उनको सुझाव छ ।
विद्यालयले यसअघि विद्यार्थीलाई कृषि अभ्यासमा समेत सहभागी गराएको थियो । विद्यार्थीले विद्यालय परिसरमै धान रोप्ने, काट्ने, चुट्ने र भित्र्याउनेसम्मका काम सिकेका थिए । त्यसैगरी जैविक फोहरबाट कम्पोस्ट मल निर्माणलगायतका अभ्याससमेत गराइएको थियो । प्रधानाध्यापक गिरीले परम्परागत ज्ञानको संरक्षणसँगै विद्यार्थीलाई आधुनिक प्रविधिसँग परिचित गराउने उद्देश्यले सीपमूलक शिक्षालाई निरन्तरता दिइएको बताउनुभयो । उहाँका अनुसार विद्यार्थीले कक्षाकोठामा हासिल गरेको ज्ञानलाई दैनिक जीवनमा प्रयोग गर्न सकून् भन्ने विद्यालयको लक्ष्य छ ।


