
अरुण काबेली पावरको नाफामा ६५ प्रतिशतको गिरावट, आम्दानी पनि घट्यो
काठमाडौं । अरुण काबेली पावर लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकसम्मको अवधिमा २ करोड भन्दा बढी नाफा आर्जन गरेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीले २ करोड १ लाख रुपैयाँ खुद नाफा कमाएको हो ।
चालु आर्थिक वर्षको पहिलो तीन महिनामा कम्पनीको नाफा गत आर्थिक वर्षको सोही अवधिको भन्दा ६५.२७ प्रतिशतले नाफा घटेको हो । गत आर्थिक वर्षको पहिलो तीन महिनामा कम्पनीले ५ करोड ८० लाख ६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीको सञ्चालन आम्दानीमा समेत गिरावट आएको छ । गत वर्षको पहिलो तीन महिनामा १९ करोड ४२ लाख ८७ हजार रुपैयाँ रहेको सञ्चालन आम्दानी चालु वर्षको सोही अवधिमा ९.१८ प्रतिशतले घटेर १७ करोड ६४ लाख ५९ हजार रुपैयाँमा सीमित भएको छ । आम्दानी घटेसँगै कम्पनीको कुल नाफा पनि १८.३२ प्रतिशतले घटेर १४ करोड ८६ लाख ८८ हजार रुपैयाँ कायम भएको छ ।
अर्कोतर्फ कम्पनीको वित्तीय खर्च भने बढेको छ । गत वर्षको पहिलो त्रैमासमा ४ करोड ९८ लाख रुपैयाँ रहेको वित्तीय खर्च चालु वर्षको सोही अवधिमा २६.६६ प्रतिशतले बढेर ६ करोड ३१ लाख रुपैयाँ पुगेको छ । सञ्चालन आम्दानीमा आएको कमी र वित्तीय खर्चमा भएको वृद्धिले कम्पनीको खुद नाफामा थप दबाब परेको देखिन्छ ।
समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी ३ अर्ब ८९ करोड ५९ लाख रुपैयाँ यथावत् रहेको छ । जगेडा कोष भने ८८.४४ प्रतिशतले बढेर ८ करोड ९१ लाख रुपैयाँ पुगेको छ। त्यस्तै कम्पनीको कुल सम्पत्ति १४.३४ प्रतिशतले बढेर ७ अर्ब ३६ करोड १० लाख रुपैयाँ पुगेको छ । कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी २ रुपैयाँ ७ पैसा, प्रतिसेयर नेटवर्थ १८८ रुपैयाँ ९४ पैसा र मूल्य आम्दानी अनुपात १२२.५५ गुणा रहेको छ ।


