
धनकुटामा दुई करोड ५८ लाख खर्चेर बनाइएको आठपहरिया सङ्ग्रहालय किन अझै सञ्चालनमा आएन?
धनकुटा । आठपहरिया समुदायको मौलिक कला, संस्कृति, इतिहास र परम्परागत जीवनशैली संरक्षण गर्ने उद्देश्यले धनकुटामा दुई करोड ५८ लाख रुपैयाँ खर्चेर निर्माण गरिएको आठपहरिया सङ्ग्रहालय अझै सञ्चालनमा आउन सकेको छैन। भवन निर्माणको अधिकांश काम सम्पन्न भए पनि भित्री व्यवस्थापन, सांस्कृतिक सामग्री सङ्कलन, प्राविधिक तयारी तथा सञ्चालनको जिम्मेवारीमा सहमति जुट्न नसक्दा सङ्ग्रहालय सञ्चालनमा ढिलाइ भएको हो।
धनकुटा नगरपालिका–४ स्थित बिहीबारे हटियानजिक करिब तीन रोपनी क्षेत्रफलमा निर्माण गरिएको दुईतले सङ्ग्रहालयमा १० वटा कोठा र एउटा मुख्य हल छन्। आधुनिक संरचनाभित्र आठपहरिया समुदायको मौलिक वास्तुशैली झल्काउन भवनको छानो परम्परागत शैलीमा फुसले छाइएको छ।
गत वर्ष आठपहरिया समुदायको प्रमुख चाड वाडाङ्मेटको अवसरमा सङ्ग्रहालय सञ्चालनमा ल्याउने योजना थियो। तर, आवश्यक व्यवस्थापकीय तथा प्राविधिक काम पूरा हुन नसक्दा सङ्ग्रहालय अहिलेसम्म सर्वसाधारणका लागि खुल्न सकेको छैन।
सङ्ग्रहालय निर्माणका लागि आर्थिक वर्ष २०७८/७९ मा सङ्घीय सरकारले ५० लाख र धनकुटा नगरपालिकाले दुई करोड आठ लाख रुपैयाँ विनियोजन गरेका थिए। भवनको अधिकांश निर्माण कार्य सम्पन्न भए पनि आँगन निर्माण, आन्तरिक व्यवस्थापन, प्रदर्शनी सामग्रीको छनोट, वर्गीकरण, अभिलेखीकरण र संरक्षणलगायतका काम अझै बाँकी छन्।
किरात आठपहरिया समाजका केन्द्रीय महासचिव कोमल आठपहरियाका अनुसार सङ्ग्रहालयमा समुदायका परम्परागत पोशाक, बाजागाजा, कृषि औजार, घरेलु सामग्री तथा धार्मिक र सांस्कृतिक महत्त्वका वस्तु प्रदर्शन गर्ने योजना छ। ती सामग्रीले आठपहरिया समुदायको विगतको जीवनशैली, श्रम संस्कृति, सामाजिक परम्परा र धार्मिक विश्वासबारे नयाँ पुस्तालाई जानकारी दिने उनको भनाइ छ।
आधुनिक जीवनशैली, बसाइँसराइ र पुस्तान्तरणसँगै आठपहरिया समुदायका परम्परागत सामग्री तथा संस्कार क्रमशः हराउँदै जान थालेका छन्। कुनै समय दैनिक जीवनमा प्रयोग हुने पोशाक, बाजागाजा, कृषि उपकरण र घरेलु सामग्री नयाँ पुस्ताका लागि अपरिचित बन्दै गएपछि तिनको संरक्षण तथा मौखिक इतिहासको अभिलेखीकरण गर्ने उद्देश्यले सङ्ग्रहालय निर्माण गरिएको हो।
यस वर्ष मङ्सिरमा मनाइने वाडाङ्मेट पर्वदेखि सङ्ग्रहालय सञ्चालनमा ल्याउने तयारी भइरहेको किरात आठपहरिया समाजका केन्द्रीय उपाध्यक्ष सूर्य आठपहरियाले बताए। समुदायको सबैभन्दा ठूलो सांस्कृतिक पर्वकै अवसरमा सङ्ग्रहालय सञ्चालन गर्न सके यसको महत्त्व अझ बढ्ने उनको भनाइ छ।
तर, सङ्ग्रहालय कसले सञ्चालन गर्ने भन्ने विषय अझै टुङ्गिएको छैन। धनकुटा नगरपालिकाले वार्षिक केही रकम अनुदान दिएर सञ्चालनको जिम्मेवारी किरात आठपहरिया समाजलाई हस्तान्तरण गर्ने तयारी गरे पनि समाज तत्काल जिम्मेवारी लिन तयार देखिएको छैन।
समाजका उपाध्यक्ष सूर्य आठपहरियाले सुरुवाती चरणमा नगरपालिका आफैँले सङ्ग्रहालय सञ्चालन गर्नुपर्ने र आम्दानी हुन थालेपछि मात्रै समाजलाई जिम्मेवारी दिनुपर्ने धारणा राखेका छन्। सञ्चालन कार्यविधि, कर्मचारी व्यवस्थापन, सुरक्षा, प्रदर्शनी व्यवस्थापन तथा सामग्रीको दीर्घकालीन संरक्षणका विषयमा स्पष्ट व्यवस्था नहुँदा पनि सञ्चालन प्रक्रिया अघि बढ्न सकेको छैन।
धनकुटा नगरपालिकाका सूचना अधिकारी विकास अधिकारीले आधुनिक जीवनशैलीको प्रभावसँगै आठपहरिया समुदायको परम्परा, संस्कार र जीवन पद्धतिमा परिवर्तन आउन थालेकाले सांस्कृतिक सामग्री तथा मौखिक इतिहासको अभिलेखीकरण आवश्यक रहेको बताए।
सङ्ग्रहालयमा समेटिनेछन् २२ मार्गाथानी र ५२ चुले
सङ्ग्रहालयमा आठपहरिया समुदायको धार्मिक तथा सांस्कृतिक पहिचानसँग जोडिएका २२ मार्गाथानी र ५२ चुले अर्थात् ठूला घरसम्बन्धी जानकारीसमेत राखिनेछ। महासचिव कोमल आठपहरियाका अनुसार समुदायमा जन्मदेखि मृत्युसम्म गरिने संस्कार, धार्मिक विश्वास, परम्परागत जीवनशैली र सांस्कृतिक अभ्यासलाई प्रदर्शनी तथा अभिलेखमार्फत प्रस्तुत गरिनेछ।
आठपहरिया समुदायको मुख्य बसोबास धनकुटा नगरपालिकामा मात्रै रहेको छ। करिब छ हजार जनसङ्ख्या रहेको यस समुदायका सदस्य रोजगारी तथा अन्य कारणले बाहिर बसोबास गरे पनि आफ्ना प्रमुख चाडपर्व र संस्कार मनाउन धनकुटा फर्किने परम्परा छ।
किरात आठपहरिया समाजका केन्द्रीय अध्यक्ष अष्टमान आठपहरियाका अनुसार समुदायका २२ थलोमा रहेका २२ मार्गाथानी र ५२ चुलेमा विशेष पूजाआजा गर्ने चलन छ। धनकुटा नगरपालिकाबाहिर गरिएका चाडपर्व तथा संस्कारले परम्परागत मान्यता नपाउने धार्मिक विश्वासका कारण समुदायका सदस्य महत्त्वपूर्ण सांस्कृतिक अवसरमा धनकुटा आउने गर्छन्।
आठपहरियाका तीन प्रमुख चाड
आठपहरिया समुदायले वर्षभरि तीनवटा प्रमुख चाड मनाउने गरेका छन्। वैशाखमा विशु अर्थात् वैशाखे, भदौमा न्वागी अर्थात् भदौरे र मङ्सिरमा वाडाङ्मेट अर्थात् मङ्सिरे चाड मनाउने परम्परा छ।
वैशाखमा मनाइने विशु चाड रामनवमीपछिको दोस्रो सोमबारदेखि सुरु भएर तेस्रो सोमबारसम्म आठ दिन मनाइन्छ। यस अवसरमा बाली लगाउने समय भएकाले वर्षा गराइदिन मार्गाथानी तथा प्रकृतिको पूजा गर्दै सुख, शान्ति, उन्नति र आपसी मेलमिलापको कामना गर्ने चलन छ।
विशु चाडलाई समुदायले वर्षको पहिलो प्रमुख पर्वका रूपमा मनाउने गरेको छ। यस अवसरमा विशेषगरी महिलाको सुखसमृद्धिका लागि घर तथा करेसाबारीमा पूजा गर्ने परम्परासमेत रहेको छ।
भदौमा मनाइने न्वागी चाड नयाँ बाली पाकेपछि पितृ तथा कुलदेवतालाई चढाएर मात्रै आफूले खाने परम्परासँग सम्बन्धित छ। भदौ शुक्ल पूर्णिमापछिको मङ्गलबारदेखि आइतबारसम्म छ दिन यो पर्व मनाइन्छ।
वैशाखमा बाली लगाउँदा वर्षा गराइदिन कुल तथा पितृसँग प्रार्थना गर्ने आठपहरिया समुदायले भदौ वा असोजमा बाली पाकेपछि नयाँ अन्न चढाएर कृतज्ञता व्यक्त गर्ने गर्छन्। कुल, पितृ तथा मार्गा देवताको कृपाले बाली उत्पादन भएको विश्वाससहित पहिले उनीहरूलाई अन्न चढाउने र त्यसपछि मात्रै आफूले खाने चलन छ।
मङ्सिरमा मनाइने वाडाङ्मेट आठपहरिया समुदायको सबैभन्दा ठूलो चाड हो। १५ दिनसम्म मनाइने यस पर्वमा पहिलो सन्तान जन्मिएको खुसीयाली मनाउने तथा वर्षभरि बाबु वा आमा गुमाएका सन्तानले सामूहिक रूपमा बरखी फुकाउने परम्परा छ।
बरखी फुकाउन समुदायका सदस्य तीन दिनको पैदल यात्रा गरेर सुनसरीको बराहक्षेत्रनजिकै रहेको कोकाहा खोलामा पुग्छन्। त्यहाँ केश तथा दाह्री मुण्डन गरी सामूहिक रूपमा बरखी फुकाउने चलन रहेको छ।
वाडाङ्मेटका अवसरमा ढोल, मारुनी र डल्लो नाचलगायतका सांस्कृतिक गतिविधि आयोजना गरिन्छन्। यस पर्वमा पैसाको माला दान गर्ने परम्परासमेत रहेको छ।
सांस्कृतिक संरक्षणसँगै पर्यटन प्रवर्द्धनको अपेक्षा
आठपहरिया सङ्ग्रहालय सञ्चालनमा आएपछि समुदायको सांस्कृतिक सम्पदा संरक्षणसँगै धनकुटाको पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ। मौलिक संस्कृति, परम्परागत जीवनशैली र ऐतिहासिक सामग्रीबारे अध्ययन गर्न चाहने आन्तरिक तथा बाह्य पर्यटकका लागि सङ्ग्रहालय आकर्षणको केन्द्र बन्न सक्ने देखिएको छ।
विशेषगरी विद्यार्थी, अनुसन्धानकर्ता, संस्कृतिप्रेमी तथा नयाँ पुस्ताका लागि सङ्ग्रहालय अध्ययन र अवलोकनको महत्त्वपूर्ण स्थल बन्ने महासचिव कोमल आठपहरियाको भनाइ छ। यसले आठपहरिया समुदायको इतिहास र मौलिक पहिचानलाई अन्य समुदायसम्म पुर्याउनसमेत सहयोग गर्ने अपेक्षा गरिएको छ।
समुदायको इतिहास र संस्कृति जोगाउन करोडौँ रुपैयाँ लगानी गरेर भवन निर्माण गरिए पनि सञ्चालनको स्पष्ट कार्यविधि, जिम्मेवारी बाँडफाँट र आवश्यक व्यवस्थापन अझै टुङ्गिएको छैन। गत वर्षको वाडाङ्मेटमा सञ्चालन गर्ने योजना पूरा नभएपछि यस वर्षको मङ्सिरे चाडमा सङ्ग्रहालय खुल्ने अपेक्षा गरिएको छ, तर त्यसका लागि बाँकी काम र सञ्चालनसम्बन्धी सहमति समयमै पूरा हुनुपर्ने देखिएको छ।


