
लिभरपुललाई हराउँदै आर्सनल शीर्ष स्थानमा
काठमाडौं । आर्सनलले इंग्लिस प्रिमियर लिगमा लिभरपुललाई उसकै मैदानमा १–० ले पराजित गरेको छ। काइ हाभर्ट्जको निर्णायक गोलमा जित निकालेको आर्सनल सन् २०१२ पछि पहिलो पटक एनफिल्डमा जित्न सफल भएको हो।
म्यानचेस्टर सिटीलाई पछि पार्दै शीर्ष स्थानमा उक्लिने क्रममा आर्सनलका लागि हाभर्ट्जले खेलको १६औं मिनेटमा गोल गरेका थिए। डेक्लान राइसको क्रसमा उनले गोलरक्षक एलिसनलाई बिट गर्दै बललाई जाली चुमाए।
गोलपछि भने आर्सनल रक्षात्मक रणनीतिमा केन्द्रित भयो। पहिलो हाफमै लिभरपुलले लगातार दबाब सिर्जना गरे पनि फ्लोरियन विर्ट्जको फ्रिकिक बारमा लागेर फर्कियो। एलेक्सिस म्याक एलिस्टरले हेडरमार्फत गोल गर्ने सुनौलो अवसर पनि खेर फाले।
दोस्रो हाफमा पनि लिभरपुलले आक्रमणलाई निरन्तरता दियो। तर आर्सनलको रक्षापंक्ति तोड्न सकेन। लिभरपुलले दोस्रो हाफमा पोस्टको दिशामा समेत प्रहार गर्न सकेन। यो जितसँगै आर्सनल (२४ अंक) ले लिगको शीर्ष स्थानमा दोस्रो स्थानको म्यानचेस्टर सिटीमाथि ३ अंकको अग्रता बनाएको छ।


